भक्तपुर क्यान्सर अस्पतालको कमिसन चक्र तोड्न सकेनन् स्वास्थ्यमन्त्रीले, मिलेमतो गरेकै कम्पनीलाई साढे तीन करोड महँगोमा ‘सीटी’को टेण्डर

भक्तपुर क्यान्सर अस्पतालको कमिसन चक्र तोड्न सकेनन् स्वास्थ्यमन्त्रीले, मिलेमतो गरेकै कम्पनीलाई साढे तीन करोड महँगोमा ‘सीटी’को टेण्डर

काठमाडौं : अन्ततः भक्तपुर क्यान्सर अस्पतालले तीन करोड बढी मूल्य तिरेर मिलेमतो गरेकै कम्पनीसँग सीटी स्क्यान मेसिन खरिद गर्ने निर्णय गरेको छ। अस्पतालले इष्ट वेष्ट कन्सर्न प्रालिसँग १७ करोड २६ लाख ४६ हजार चार सय ६० रुपैयाँमा सीटी स्क्यान मेसिन खरिद गर्ने निर्णय गर्दै गत आइतबार (असार २४ गते) सूचना जारी गरेको हो।

अस्पतालले अधिकतम १४ करोड मूल्यमा आउने सीटी स्क्यान मेसिन साढे तीन करोडभन्दा महँगोमा खरिद गर्ने गरी बोलपत्र स्वीकृतको निर्णय गरेको हो। 

अस्पतालले आइतबार जारी गरेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचनामा ‘सीटी स्क्यानसँग सम्बन्धित कार्यहरू गर्ने सम्बन्धी मिति २०८०-०१-१३ गतेको गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार रीतपूर्वक दर्ता हुन आएका बोलपत्रहरू मध्ये न्यूनतम मूल्यांकित सारभूत रूपमा प्रभावग्राही तपशील बमोजिम बोलपत्र स्वीकृतको लागि छनोट भएको’ उल्लेख छ।  

बोलपत्र स्वीकृत गर्ने आशयको सूचनामा छनोट भएको दरभाउ पत्रदाताको नाम ‘इष्ट वेष्ट कन्सर्न प्रालि’ छ भने कबोल अंक ‘१७ करोड २६ लाख ४६ हजार चार सय ६०’ उल्लेख गरिएको छ। 

उकेराले भक्तपुर क्यान्सर अस्पतालमा मेसिन उत्पादक कम्पनी सिमेन्सकै नेपाली सप्लायर्स इष्ट वेष्ट कन्सर्नलाई सीटी खरिदको टेण्डर दिने तयारी भएको विषयमा निरन्तर  समाचार सम्प्रेषण गर्दै आएको थियो। इष्ट वेष्टले सीटीको टेण्डर पाएसँगै यो समाचारले कमिसनको खेलमा उसैलाई टेण्डर पारेको पुष्टि भएको छ।

उकेराले २०७९ माघ १३ गते सीटी स्क्यान मेसिनको टेण्डर हुनुअघि नै ‘भक्तपुर क्यान्सर अस्पतालले खरिद गर्न लागेको २१ करोड ८० लाखको सीटी स्क्यान मेसिनमा सेटिङको आशंका’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो।

त्यसैगरी उकेराले दुई हप्ताअघि मात्रै ‘स्वास्थ्यमा अर्को लुट : भक्तपुर क्यान्सर अस्पतालमा सीटी स्क्यान मेसिन खरिदमा चार करोडको खेल’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। 

सीटी स्क्यान मेसिनको खरिद प्रक्रिया सुरु हुँदा अस्पतालका कार्यकारी निर्देशकमा प्रा. डा. विष्णुदत्त पौडेल थिए। तर, केही दिनअघि मात्रै डा. पौडेललाई हटाएर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्ज्वल चालिसेलाई नियुक्त गरेका छन्। 

त्यसो त चार वटा अस्पतालका स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे छानबिन गर्न गठित समितिले निश्चित कम्पनीले दायर गरेको टेन्डरमा भएको बदमासी लुकाउँदै दुई वटा टेन्डरबारे मात्र प्रश्न उठाएको विषय केही दिनअघि उकेराले नै खुलासा समेत गरिसकेको छ।

स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्वास्थ्य उपकरण खरिद प्रक्रियाबारे छानबिन गर्न समिति गठन भएको थियो।

उकेराले प्राप्त गरेको प्रतिवेदनमा भरतपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालले मेसिन उत्पादक कम्पनी सिमेन्स (नेपाली सप्लायर्स इष्ट वेष्ट कन्सर्न)सँग मात्र मिल्नेगरी मापदण्ड बनाएर बढाएको एमआरआई र सीटी स्क्यानको टेन्डरबारे प्रतिवेदन मौन छ।

भरतपुर र भक्तपुरको टेन्डरमा प्राविधिक मापदण्डमा खेलेर सिमेन्सको मात्र उत्पादन मिल्नेगरी टेन्डरमा मिलेमतो भएको थियो। 

समिति गठन हुँदा नै त्यसका संयोजक वीर अस्पतालका वरिष्ठ मेडिकल फिजिसिष्ट डा. कञ्चन प्रसाद अधिकारी र सिमेन्सबीच निकट सम्बन्धमा रहेको दाबी आएका थिए।

प्रतिवेदन पनि जहाँ जहाँ सिमेन्सको मिलेमतो देखिएको छ, त्यहाँको टेन्डर प्रक्रियाबारे नरम देखिएको छ। छानबिन समितिको सदस्यमा स्वास्थ्य मन्त्रालयका कानुन शाखाका (प्रमुख) उपसचिव रेशराज शर्मा, कर्मचारी प्रशासनका उपसचिव कृष्ण थापा, लेखा अधिकृत शालिग्राम चौधरी र स्वास्थ्य सेवा विभागका बायोमेडिकल इन्जिनियर आशीष चौहान थिए।

उकेरालाई प्राप्त प्रतिवेदन अनुसार असार १५ गते छानबिन समितिले प्रतिवेदन तयार गरी हस्ताक्षर गरेर स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई बुझाइसकेको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री बस्नेतले प्रतिवेदनअनुसार काम गर्न असार १७ गते नै निर्देशन समेत दिइसकेका छन्। 

छानबिन समिति त सिमेन्सको टेण्डरको विषयमा मौन बन्यो नै। सिमेन्ससँग मिलेमतोगरी भक्तपुर क्यान्सर अस्पतालमा सीटी स्क्यान मेसिन खरिदमा स्वास्थ्य सचिव रोशन पोख्रेलको समेत भूमिका शंकास्पद देखिन्छ।

मेसिन उत्पादक सिमेन्स कम्पनीको नेपाल एजेन्टसँगको मिलेमतोमा अस्पताल प्रशासनले प्राविधिक मापदण्ड लक्ड गरेर साढे तीनदेखि चार करोड बढी मूल्य तिरेर इष्ट वेष्ट कन्सर्नलाई टेण्डर स्वीकृति दिएको हो। मेसिन उत्पादक कम्पनी सिमेन्सको नेपाली सप्लायर्स तथा ऐजेन्ट इष्ट वेष्ट कन्सर्न हो। 

अस्पतालले प्राविधिक मूल्यांकन इष्ट वेष्ट कन्सर्नको स्पेसिफिकेसनसँग मात्र मिल्ने गरी बनाएर अहिले टेण्डरको आर्थिक मूल्यांकनको चरणमा समेत उसैलाई छानेको हो। सीटी मेसिन खरिद प्रक्रियाको प्रारम्भ नै मिलेमतोमा भएकाले प्राविधिक र आर्थिक दुवै चरणको मूल्यांकनमा इष्ट वेष्ट नै छनोट हुने निश्चित नै थियो। 

प्राविधिक मापदण्ड भनेको मेसिनको किसिम, कुन-कुन सुविधा तथा विशेषता रहेका छन् भन्ने जस्ता प्राविधिक पक्षको विवरण हो। यही प्राविधिक स्पेसिफिकेसनकै आधारमा खरिद गरिने कुन मेसिन योग्य र कुन मेसिन अयोग्य भन्ने निश्चित हुन्छ। त्यति मात्रै हैन, कुनै निश्चित कम्पनीको मेसिनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेसिफिकेसन बनाएको खण्डमा उसैको आवेदन मात्रै स्वीकृत हुन्छ भने अन्यको रद्द हुन्छ। 

भक्तपुर क्यान्सर अस्पतालले ‘२५६’ स्लाइसको ‘सीटी स्क्यान मेसिन’ किन्न २०८० वैशाख १३ गते टेन्डर आह्वान गरेको थियो। टेन्डर आह्वानको सूचनामा ‘प्रि-बिड मिटिङ’ मिति २०८० वैशाख २९ गते दिउँसो २ बजे राखियो। तोकिएकै समयमा ‘प्रि-बिड मिटिङ’ पनि बस्यो। 

‘प्रि–बिड’  बैठकमा सिमेन्स, फिलिप्स, जीई, युनाइटेड इमेजिङ, नियोसफ्ट, तोसिबा जस्ता कम्पनीको मेसिन सप्लायर्सका प्रतिनिधि भक्तपुर क्यान्सर अस्पतालमा पुगेका थिए। 

तर, सीटी स्क्यान खरिदका लागि सिमेन्ससँग मात्रै मिल्नेगरी प्राविधिक स्पेसिफिकेसन बनाएको देखिएपछि सिमेन्स बाहेक सप्लायर्स कम्पनीहरूले स्पेसिफिकेसन संशोधन गरेर सबै कम्पनीका लागि खुला हुने गरी स्पेसिफिकेसन संशोधन गर्न आग्रह गरेका थिए। 

अस्पतालले स्पेसिफिकेसन संशोधन पनि गरेको थियो। तर, पहिल्यै इष्ट वेष्टलाई टेण्डर दिनका लागि सेटिङमा राखिएका मुख्य बुँदा भने संशोधन नै भएन। संशोधनले अन्य कम्पनीलाई प्रतिस्पर्धामा सहभागी हुने बाटो खोलिदिन सकेन।

बोलपत्र पेस गर्ने अन्तिम मिति २०८० असार ३ गते १२ बजे भित्रलाई तोकिएको थियो। तर, अस्पतालले सिमेन्ससँग
​​​​​​मात्रै मिल्नेगरी प्राविधिक स्पेसिफिकेशन  बनाएपछि अन्य कम्पनीका सप्लायर्सले सीटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र नै पेस गरेनन्। 

बोलपत्र पेस गर्नेलगायत खरिद प्रक्रियाका विभिन्न चरण पूरा भएपछि बोलपत्र (बिड ओपन) खुल्छ। भक्तपुर क्यान्सर अस्पतालले मेसिन खरिदका लागि बोलपत्र खुल्ने मिति २०८० असार ३ गते एक १ बजेलाई तोकेको थियो। बोलपत्र पेस गर्ने अन्तिम समय सीमा सकिएको एक घण्टामा नै अस्पतालले बोलपत्र खुलायो। 

बोलपत्र खुल्दा बोलपत्र पेस गर्ने (टेन्डर हाल्ने) सप्लायर्स कम्पनीका प्रतिनिधिहरू उपस्थित हुन्छन्। तर, सिमेन्स कम्पनीको नेपालस्थित सप्लायर्स कम्पनी इष्ट वेष्ट कन्सर्नले मात्रै खरिदका लागि बोलपत्र पेस गरेकाले बोलपत्र खुल्ने समयमा इष्ट वेस्टको प्रतिनिधि मात्र उपस्थित भए। 

बोलपत्र खुलेपछि प्राविधिक मूल्यांकनको चरण सुरु हुन्छ। पहिलो चरणमा प्राविधिक रूपमा योग्य भएको बोलपत्र पेस गर्ने प्रस्तावक (कम्पनी)को मेसिन मात्रै खरिदका लागि छनोटमा पर्छ। 

मेसिन खरिदका लागि प्राविधिक रूपमा मात्रै छनोटमा परेर हुँदैन। टेन्डर स्वीकृतिमा पर्न आर्थिक मूल्यांकनमा समेत छनोट हुनुपर्छ। 

सीटी स्क्यान मेसिन खरिदका लागि प्राविधिक मूल्याकंनमा इष्ट वेष्ट कन्सर्न प्रालिलाई छनोट गरेर अस्पतालले २०८० असार ६ गते आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको थियो। 

अस्पतालले असार ६ गते आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी जारी गरेको सूचनामा ई-जीपीमा दर्ता हुन आएका बोलपत्रहरू मध्ये प्राविधिक प्रस्तावको मूल्यांकनमा  इष्ट वेष्ट कन्सर्न प्रालि छनोट भएकाले बोलपत्रदाता (इष्ट वेष्ट)ले पेस गरेको आर्थिक प्रस्ताव २०८०-०३-२१ गते दिउँसो एक बजे खोल्ने उल्लेख थियो। 

भक्तपुर क्यान्सर अस्पतालले सीटी स्क्यान मेसिन खरिदका लागि मिति २०८० असार ३ गते एक बजे बोलपत्र खोलेको थियो। तर, अस्पतालले बोलपत्र खोलेको तीन दिनमै मेसिन उत्पादक कम्पनी सिमेन्सको नेपाली सप्लायर्स इष्ट वेष्ट कन्सर्न प्रालिलाई टेण्डर दिनेगरी प्राविधिक मूल्यांकनमा इष्ट वेष्टलाई नै छनोट गरेको सूचना जारी गरेको थियो। 

असार ३ गते सीटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र खोलेको अस्पतालले असार ४ र ५ गते दुई दिनमा नै इष्ट वेष्ट कन्सर्नले बुझाएको प्राविधिक पक्षको मूल्यांकन गर्यो। र, अस्पतालले हतारहतार निर्णय गरेर असार ६ गते प्राविधिक मूल्यांकनको चरणमा इष्ट वेष्ट कन्सर्न छनोट भएको भनी आर्थिक प्रस्ताव खोलेको सूचना नै जारी गरेको थियो।

तर, प्राविधिक मूल्यांकनबारे जानकार एक बायोमेडिकल इन्जिनियरले दुई दिनमा नै प्राविधिक मूल्यांकन सकेर आर्थिक प्रस्ताव खोलेको आफूले पहिलोपटक जानकारी पाएको उकेरालाई बताएका थिए।

दुई दिनमा नै प्राविधिक मूल्यांकन सक्नुले टेण्डर प्रक्रिया सुरु हुनुपूर्व नै इष्ट वेष्टलाई नै टेण्डर दिनेगरी टेण्डर प्रक्रिया अगाडि बढेको पुष्टि हुन्छ। 

अन्ततः प्राविधिक र आर्थिक दुवै चरणमा इष्ट वेष्ट कन्सर्नलाई नै छनोट गर्दै अस्पतालले आइतबार उसैलाई टेण्डर दिने गरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गरेको छ।

यसबाट कमिसनको खेलमा इष्ट वेष्ट कन्सर्नलाई बोलपत्र स्वीकृत गर्दै आर्थिक वर्ष सकिन लागेको अवस्थामा अस्पताल प्रशासनले हतारमा मेसिन खरिदको सम्झौता गर्ने अन्तिम तयारी गरेको प्रस्ट हुन्छ। 

सामान्यतया मेसिन खरिदका लागि बोलपत्र पेस गर्ने कम्पनी मध्येबाट प्राविधिक र आर्थिक दुवै रूपमा छनोट भएका कम मूल्यमा गुणस्तरीय मेसिन खरिद गरिदिने कम्पनी (सप्लायर्स) लाई मेसिन खरिदका लागि खरिद प्रक्रिया तथा मापदण्ड अनुसार टेन्डर स्वीकृति गर्नुपर्ने हुन्छ।

तर, भक्तपुर क्यान्सर अस्पतालले प्राविधिक स्पेसिफिकेसन नै सिमेन्सको सीटी स्क्यान मसिनसँग मात्रै मिल्ने गरी लक्ड गरेर बनाएकाले उसैलाई टेण्डर पर्ने निश्चित नै थियो। 

टेण्डर स्वीकृति भएपछि टेण्डर पाउने कम्पनीसँग अस्पतालले सम्झौता गर्छ र निश्चित प्रक्रिया पूरा गरी सप्लायर्सले टेन्डर गर्ने संस्थालाई मेसिन ल्याइदिनुपर्ने हुन्छ।

अस्पतालका लागि टेन्डर गरेको सीटी स्क्यान मेसिनको स्पेसिफिकेसन नै प्राविधिक रूपमा सिमेन्स मात्रै छनोटमा पर्ने गरी बनाइएको देखिएकाले कम्पनीहरूबीच मूल्यमा समेत स्वस्थ प्रतिस्पर्धा हुन पाएन।

जसले गर्दा प्राविधिक रूपमा मेसिन उत्पादक सिमेन्स कम्पनीको नेपाली सप्लायर्स इष्ट वेष्ट कन्सर्नलाई नै छनोट गरेर उसैलाई अस्पतालको बजेटको सीमाभित्र रहेर जति आर्थिक प्रस्ताव गरे पनि इष्ट वेष्टलाई नै टेण्डर स्वीकृत हुने वातावरण बनाएको प्रस्टै हुन्छ।

भक्तपुर क्यान्सर अस्पतालले सीटी स्क्यान किन्न तयार गरेको प्राविधिक स्पेसिफिकेसनमा नयाँ मोडलको २५६ वा त्योभन्दा बढी स्लाइसको सीटी स्क्यान हुनुपर्ने मापदण्ड राखिएको छ।

प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर २.१  मा ‘बिडर मस्ट कोट फर ब्राण्ड न्यू लेटेष्ट मोडल सीटी स्क्यान क्यापेबल अफ ट्यु एक्वीजिसन अफ २५६ स्लाइस अर मोर स्लाईस पर जेन्ट्री रोटेशन वीथ क्यापेबिलिटी अफ प्रोड्युसिङ् ड्युअल इनर्जी डाटा साइमलटेनियुस्ली एट वान सिंगल रोटेशन ३६० डिग्री’ भनेर राखियो।

यो बुँदाले नै सिमेन्सको सीटीबाहेक अन्य कम्पनीको सीटी मेसिनलाई प्रतिस्पर्धा गर्ने बाटो बन्द गरेको थियो। अन्य बुँदाहरू समेत लक्ड गरेर सिमेन्ससँग मात्रै मिल्नेगरी प्राविधिक स्पेसिफिकेसन बनाइएको थियो। प्राविधिक स्पेसिफिकेसन बनाउन अस्पतालकै बायोमेडिकल इन्जिनियर, चिकित्सक र प्राविधिक संलग्न थिए।

एक वर्ष अघि २०७८ चैतमा पनि इष्ट वेष्ट कन्सर्नले भक्तपुर क्यान्सर अस्पतालमा पाँच लाख ३३ हजार नौ सय अमेरिकी डलर (नेरु ६ करोड ३५ लाख ३४ हजार) मूल्यको सीटी–सिमुलेटर मेसिनको टेण्डर पाएको थियो। यसबाट समेत भक्तपुर क्यान्सर अस्पताल प्रशासनसँग इष्ट वेष्टको कनेक्शन देखिन्छ।

असार २५, २०८० सोमबार १५:००:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।