विदेश भ्रमणमा नेपालीले सके एक खर्ब १९ अर्ब

विदेश भ्रमणमा नेपालीले सके एक खर्ब १९ अर्ब

काठमाडौँ : नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकभन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्म विदेश भ्रमणमा जाने नेपालीले एक खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन्।

गत वर्षको तुलनामा यस्तो खर्च ३७.९ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा नेपालीले विदेश भ्रमणमा ८७ अर्ब तीन करोड रुपैयाँ बराबर खर्च गरेका थिए।

सोही अवधिमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकबाट जम्मा ५८ अर्ब ६ करोड आम्दानी भएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९४.३ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा विदेशी पर्यटकबाट २९ अर्ब ८८ करोड आम्दानी भएको थियो।

यस्तै विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले समीक्षा अवधिमा ८९ अर्ब १८ करोड बाहिर लगेका छन्। गत वर्षको सोही अवधिमा यस्तो खर्च ५९ अर्ब ९९ करोड बराबर थियो।

असार २५, २०८० सोमबार १३:०६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।