६ वटा घाइते बाघलाई उद्धार गरी उपचार गरिँदै

६ वटा घाइते बाघलाई उद्धार गरी उपचार गरिँदै

चितवनः चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छवटा बाघको उद्धार गरेको छ।

निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ। समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उनले जानकारी दिए। 

उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको कोरइलाकामा छाड्ने गरिन्छ। बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एक-एक वटा पठाइएको छ भने एउटालाई खोरमा राखेर उपचार भइरहेको उनले जानकारी दिए।

उद्धार गरी ल्याइएका बाघ उपचारको क्रममा मर्ने र बानीमा सुधार आएपछि निकुञ्जमा छोडिने गरिन्छ। यस वर्ष उद्धार गरिएकोमा चार वटा भाले र दुईवटा पोथी बाघ रहेका निकुञ्जले जनाएको छ।
 
गत आर्थिक वर्षमा निकुञ्जले समस्याग्रस्त र घाइते सात वटा बाघको उद्धार गरेको थियो। जसमध्ये दुई वटा उपचारका क्रममा मरेका, चार वटाको आनीबानीमा सुधार आएसँगै निकुञ्जमा छाडिएको थियो।

निकुञ्जको खोरमा बाघको संख्या बढेसँगै यहाँबाट बाघलाई विभिन्न निकुञ्जमा स्थानान्तरण गरिएको छ। निकुञ्जको मुख्यालय कसरामा रहेका खोरमा तीन वटा र सौराहामा रहेको खोरमा दुई वटा बाघ रहेका छन्।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन्।

असार २५, २०८० सोमबार १०:२९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।