विश्वकप छनोट उपाधि श्रीलंकालाई, नेदल्याण्ड्स १२८ रनले पराजित
श्रीलंकाले २०२३ को विश्वकप छनोटको उपाधि जितेको छ।
टोलीले फाइनलमा नेदरल्यान्ड्सलाई १२८ रनले पराजित गरे पनि सन् १९९६ को च्याम्पियन श्रीलंकाले यसअघि नै विश्वकपको टिकट सुरक्षित गरिसकेको थियो।
यस जितका नायक महिष तिक्षाना थिए। उनले १८ रनमा ३ विकेट लिए। खेलको म्यान अफ द म्याच टिक्षाना भए भने ६ सय रन जोडेर ३ विकेट लिने सिन विलियम्स प्रतियोगिताको प्लेयर अफ दि म्याच भए।
आइतबार हरारे खेलकुद कम्प्लेक्समा भएको खेलमा नेदरल्याण्ड्सले टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २३३ रन बनाएको थियो। २३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १०५ रनमा सीमित भयो।
श्रीलंका टोलीको सुरुवात राम्रो थिएन। टोलीले ३९ रनमा पहिलो विकेट गुमाएको थियो। ओपनर सदीरा समराविक्रमा २३ बलमा १९ रन बनाएर आउट भए। त्यसपछि दोस्रो ओपनर पथुम निसाङ्का पनि ४४ रनको टिमको स्कोरमा पेभिलियन फर्किएका थिए।
कुसल मेन्डिस र साहान अरचिगेले श्रीलंकाको इनिङ्स सम्हालेका थिए। दुवैले चौथो विकेटका लागि ७५ बलमा ६४ रनको साझेदारी गरे। साहन अरचिगेले सर्वाधिक ५७ र कुसल मेडलले ४३ रन बनाए। यसबाहेक भानिन्दु हसरंगाले २९ र पाथुम निसान्काले २३ रनको योगदान दिए।
नेदरल्याण्ड्सका लागि भान बेक, रायन क्लेन, विक्रमजीत सिंह र साकिब जुल्फिकारले समान २-२ विकेट लिए।
असार २५, २०८० सोमबार ०७:५१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।