कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा प्राध्यापकले गरे ‘पेन डाउन’को घोषणा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा प्राध्यापकले गरे ‘पेन डाउन’को घोषणा

काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण करार चिकित्सक तथा अध्यापक र प्राध्यापकहरूले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका छन्।

उनीहरुले पदाधिकारीको कार्यकक्षमा तालाबन्दी सहित आकस्मिक सेवा बाहेक बहिरङ्ग सेवा र शैक्षिक गतिविधिमा संलग्न नहुनेगरि ‘पेन डाउन’को घोषणा गरेका हुन्। ​​​​​​​

जेष्ठ १४ गते सम्पूर्ण करार अध्यापक र प्राध्यापकहरु स्थायी हुनुपर्ने एक सुत्रीय माग राखी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए।

यसपछि पूर्वघोषित कार्यक्रमअनुसार जेष्ठ १४ देखी असार १५ गतेसम्म आफ्ना मागहरूको ज्ञापनपत्र स्थानीयस्तर, सम्पूर्ण पदाधिकारी,  शिक्षामन्त्री, कुलपति तथा प्रधानमन्त्रीको कार्यलयमा बुझाउने कार्य सम्पन्न गरी केही समय माग सम्बोधनको लागी अल्टिमेटम समेत दिएका थिए।

पूर्वघोषित कार्यक्रम अनुसार नै आइतबार पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा उपकुलपतिद्वारा दुर्व्यवहार भएको भन्दै उनीहरूले अनिश्चितकालिन ‘पेन डाउन’ सहित धर्ना लगायतका आन्दोलनको घोषणा गरेका छन्।

पेन डाउन सहितको आन्दोलन घोषणाले सम्पूर्ण पठनपाठन बन्द भएको छ। साथै उक्त आन्दोलनले आकस्मिक बाहेकका अस्पताल सेवाहरू समेत प्रभावित भएका छन ।

उक्त आन्दोलनबाट हुनजाने सम्पूर्ण क्षतिको जिम्मेवार स्वयं पदाधिकारी हुनुपर्ने जानकारी समेत प्रेषित विज्ञप्तिमा उल्लेख गरेका छन ।

असार २४, २०८० आइतबार १७:५३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।