प्रधानमन्त्रीले सम्बोधन गर्ने भनिएको संसद् बैठक स्थगित, एमाले सहमतिबाट पछि हटेको संकेत

प्रधानमन्त्रीले सम्बोधन गर्ने भनिएको संसद् बैठक स्थगित, एमाले सहमतिबाट पछि हटेको संकेत

काठमाडौं : संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले सम्बोधन गर्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

आइतबार दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि सारेका थिए।

प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद् अवरोध गरेपछि आज बसेको शीर्ष नेताबीचको बैठकमा प्रधानमन्त्रीले आफ्ना कुरा राखेर सदनको अवरोध हटाउने समझदारी भएको थियो।

प्रधानमन्त्रीसँगै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच समझदारी भए पनि एमाले सहमतिबाट पछि हटेका कारण संसद् बैठक स्थगित गरिएको बताइएको छ।

अब प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ। 

गत सोमबार एक किताब विमोचनमा प्रधानमन्त्री प्रचण्डले किताबका पात्र भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए। त्यसयता एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन।

राष्ट्रिय सभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

असार २४, २०८० आइतबार १५:३८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।