शीर्ष नेताबीच कुरो मिल्यो, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने, एमालेले अवरोध नगर्ने

शीर्ष नेताबीच कुरो मिल्यो, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने, एमालेले अवरोध नगर्ने

काठमाडौं : संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद् अवरोध गरेपछि आज बसेको शीर्ष नेताबीचको बैठकमा प्रधानमन्त्रीले आफ्ना कुरा राखेर सदनको अवरोध हटाउने सहमति भएको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा यस विषयमा बैठक भएको थियो।

जहाँ आज बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले सुरुमा सम्बोधन गर्ने र एमालेले यसपछि संसद् चल्न दिने सहमति भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताए।

एमालेको अवरोधका कारण गत बुधबारदेखि संघीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी लगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन। 

राष्ट्रिय सभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

गत सोमबार एक किताब विमोचनमा प्रधानमन्त्री प्रचण्डले किताबका पात्र भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए। त्यसयता एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन।

असार २४, २०८० आइतबार १३:४५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।