एमालेले सदन चल्न नदिएपछि ओलीलाई फकाउन प्रचण्डले बोलाए प्रमुख तीन दलको बैठक

एमालेले सदन चल्न नदिएपछि ओलीलाई फकाउन प्रचण्डले बोलाए प्रमुख तीन दलको बैठक

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाले गरेको संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

गत बुधबारदेखि संघीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी लगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन। 

राष्ट्रिय सभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

यसअघि आज बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो। बैठकमा संसद्को अवरोध हटाउने लगायतका विषयमा छलफल भएको बताइएको छ। 

गत सोमबार एक किताब विमोचनमा प्रधानमन्त्री प्रचण्डले किताबका पात्र भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए। त्यसयता एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन।

असार २४, २०८० आइतबार १२:३१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।