प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अवरोध कायमै राख्ने एमालेको अडान, राष्ट्रिय सभाको बैठक स्थगित

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अवरोध कायमै राख्ने एमालेको अडान, राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर अवरोध कायमै राख्दा आज (आइतबार) पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। 

बैठक प्रारम्भ हुने बित्तिकै एमाले सांसदले उठेर विरोध जनाउँदा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको हो।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो।

एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद्मा अवरोध कायमै रहने बताइन्। एमालेले सोही विषयलाई लिएर चार दिनदेखि संसद् अवरुद्ध गर्दै आएको छ। 

राष्ट्रिय सभाको अर्को बैठक यही असार २५ गते सोमबार बिहान ११ बजे बस्नेछ। 

असार २४, २०८० आइतबार १२:२१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।