२५ वर्षमा सिद्धार्थ ग्रुपको छलाङ, खाजा घरदेखि पाँच तारे होटलसम्म

२५ वर्षमा सिद्धार्थ ग्रुपको छलाङ, खाजा घरदेखि पाँच तारे होटलसम्म

बुटवल : खाजा घरबाट व्यवसाय थालेको सिद्धार्थ ग्रुपले २५ वर्षको अन्तरालमा पाँच तारे होटलसम्मको यात्रा तय गरेको छ। सिद्धार्थ विजनेश ग्रुपले २५ वर्षमै हस्पिटालिटी क्षेत्रमा छलाङ मारेको हो। 

२५ वर्षअघि अर्थात् २३ माघ २०५४ टीकापुरमा खाजा पसल सञ्चालन गरेको सिद्धार्थ ग्रुपले अहिले रुपन्देहीमा पाँच तारे होटल सञ्चालनमा ल्याएको छ। यो सफलताका प्रमुख सुत्रधार हुन् चिन्तामणि न्यौपाने ‘लक्ष्मण’।

व्यापारमा सफलता प्राप्त गर्न धैर्यता र मेहनत मात्र होइन बजारको विश्लेषण तथा नयाँ र फरक प्रकृतिको विजनेश गर्ने कला पनि चाहिन्छ। यसै सूत्रलाई पच्छ्याउँदै खाजा घरको साहुजीबाट अहिले उनी पाँच तारे होटलका मालिक भएका छन्। 

भैरहवा अञ्चलपुर प्रहरी चेकपोस्टदेखि दुई सय मिटर पश्चिमतिर मायादेवी गाउँपालिका वडा नम्बर ८ मा हालै मात्र सञ्चालनमा आएको पाँच तारे होटल ‘सिद्धार्थ भिलासा’ चार बिघा क्षेत्रफलमा फैलिएको छ। होटलमा डिलक्स, एक्जुकेटिभ स्विट, स्विट र प्रेसिडेन्ट स्विट गरी चार स्तरमा वर्गीकरण गरिएका ८५ वटा कोठा छन्।

‘एउटा सपना देखेर खाजा घरबाट व्यवसायीक यात्रा सुरु भएको थियो। अहिले यो ग्रुपले पाँच तारे होटल सञ्चालन गर्न सकेको छ। यसमा सबैको मेहनत, लगानी, लगाव, धैर्यता सबै छ। एउटा सपना पुरा भएको छ,’ उनले भने।

खाजा पसलबाट यात्रा थालेको लक्ष्मणले अन्य साथीहरुलाई समेत जोड्दै सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालि बनाए। 

यो चेन विजनेश ग्रुपले हस्पिटालिटी क्षेत्रमा मात्र होइन अन्य क्षेत्रमा पनि लगानी गरिरहेको छ। यसले महेन्द्रनगर, लमही, चन्द्रौटा, नुवाकोट, बिर्तामोड लगायतका विभिन्न ६ ठाउँमा व्यवस्थापन साझेदारीमा क्याफे तथा होटेल संचालन गरेको छ।

त्यस्तै ट्रेडिङतर्फ सिद्धार्थ हस्पिटालिटी मार्ट, आइटीतर्फ सर्व टेक्नोलोजी, कृषि उत्पादनतर्फ बायोटिका, इन्स्टिच्युटतर्फ सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी ब्रान्ड नाममा सेवा प्रवाह तथा वस्तु उत्पादन पनि यो ग्रुपले गर्दै आएको छ। 

छिट्टै नै यो समूहले जुम्लाको ताम्रा, इलामको कन्याम चिया बगान, काभ्रेको धुलिखेल, कैलालीको धनगढी र कास्कीको पोखरामा समेत होटल तथा रिसोर्ट सञ्चालन गर्ने योजना बनाएको छ। 

‘बाह्य पर्यटक लक्षित तीन तारे र चार तारे होटल भने यस अघिदेखि नै सञ्चालन भइरहेको छ। यो पाँच तारे होटल पहिलो हो। अब चितवनको सौराहा, दाङको लमहीमा चार तारे होटल र विराटनगरमा पाँच तारेदेखि लक्जरी रिसोर्टसम्म सञ्चालन गर्ने योजना छ,’ ग्रुपका अध्यक्ष समेत रहेका न्यौपानेले भने।

चितवनको सौराहामा सिद्धार्थ भिलासाको दोस्रो शाखा सञ्चालनमा ल्याउने र त्यसपछि सिद्धार्थ वैभव र सिद्धार्थ बाटिका गरी तीन स्तरका लक्जरी होटेलहरु सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए। 

साढे दुई अर्बभन्दा धेरै रूपैयाँ लगानीमा निर्माण भएको पाँच तारे होटल सिद्धार्थ भिलासामा तीन सय जनाभन्दा बढीले रोजगारी पाएका छन् । समग्रमा यस सिद्धार्थ विजनेश ग्रुपमा भने १ हजार ६ सय भन्दा बढीले रोजगारी पाएका छन्।

समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार होटलमा लबी लाउन्ज, अल डे डाइनिङ, रूफ टफ रेस्टुरेन्ट तथा स्वीमिङ पुल, फिटनेस, स्पा, साउना, ज्याकुजीसहितको हेल्थ क्लब सेवा, गार्डेन, सभा हल, ३ वटा कन्फरेन्स हल तथा क्यासिनो छ। 

भैरहवाको पाँचतारे होटलमा समूहको आफ्नै लगानी छ। ६० कोठासहितको लमहीको चार तारे होटल भने व्यवस्थापन मात्र हेर्ने गरी लिइएको हो।

अब खोलिने सौराहाको रिसोर्टमा २५ र विराटनगरको होटलमा ४० वटा कोठा रहने अध्यक्ष न्यौपानेले बताए। चार वटा होटल र रिसोर्ट थपिएपछि सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफेको संख्या ३० पुग्नेछ। होटल मात्र १९ वटा हुने छन्। 

असार २४, २०८० आइतबार १२:०८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।