आज राति भारी वर्षा हुने

आज राति भारी वर्षा हुने

काठमाडौं : देशमा भएको मनसुनी वायुको प्रभावका कारण शनिबार राति भारी वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ।

यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

रातिको समयमा सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी जारी गर्दै देशका कतिपय स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले सम्भावित जोखिमबाट बच्न सबैमा आग्रह गरिएको छ।

असार २३, २०८० शनिबार २१:४८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।