भारतको पश्चिम बंगालमा भएको पञ्चायत चुनावमा हिंसात्मक झडप, १२ जनाको मृत्यु

भारतको पश्चिम बंगालमा भएको पञ्चायत चुनावमा हिंसात्मक झडप, १२ जनाको मृत्यु

एजेन्सी : भारतको पश्चिम बंगालमा शनिबार पञ्चायत चुनावको क्रममा राज्यका विभिन्न भागहरूमा ठूलो मात्रामा हिंसामा कम्तिमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

ठूलो मात्रामा हिंसात्मक झडपका अलावा आगजनी, बुथ कब्जा र नक्कली मतदानका सयौं उजुरीहरू पनि सार्वजनिक भएको सरकारी स्रोतले बताएको बीबीसीले जनाएको छ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार ठूलो मात्रामा हिंसाका बीच साँझ ५ बजेसम्म ६६.२८ प्रतिशत मत खसेको छ। गैरसरकारी स्रोतहरूले कम्तिमा १५ जनाको मृत्यु भएको दाबी गरेका छन्।

तीन जनाको मृत्यु भएको पुष्टि गर्दै प्रदेश निर्वाचन आयुक्त राजीव सिन्हाले दिउँसो पत्रकारहरूसँग भने, ‘शान्ति र व्यवस्था जिल्ला प्रशासनको जिम्मेवारी हो, आयोगको काम सम्पूर्ण व्यवस्था सम्हाल्ने हो।’

सरकारी स्रोतले अहिलेसम्म १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

सबैभन्दा बढी हिंसा मुर्शिदाबाद जिल्लामा भएको थियो। यसबाहेक नादिया, कूचबिहार, मालदा, बर्दवान, उत्तर र दक्षिण २४–परगना जिल्लाहरूमा पनि हिंसात्मक घटनाहरूमा मानिसहरूको मृत्यु भएको छ।

सत्तारुढ तृणमूल कांग्रेस र विपक्षी दलहरूले हिंसाका घटनाका लागि एकअर्कालाई दोष दिएका छन्। भाजपाले यस मामिलामा हस्तक्षेप गर्न र राज्यमा राष्ट्रपति शासन लागू गर्न केन्द्रलाई माग गरेको छ।

भाजपाका कार्यकर्ताहरूले राज्य निर्वाचन आयोगको कार्यालय अगाडि पनि हिंसाको विरोध गरेका थिए। अर्कोतर्फ, गभर्नर सीवी आनन्द बोसले पनि यस हिंसाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

पश्चिम बंगालमा त्रि–स्तरीय पञ्चायत प्रणाली अन्तर्गत गाउँ पञ्चायतका ६३,२२९ सिट, पञ्चायत समितिका ९ हजार ७३० सिट र २२ जिल्ला परिषद्का ९२८ सिट अर्थात् कुल ७३,८८७ सिटका लागि मतदान भएको थियो।

जसमध्ये ९ हजार १३ सिटमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

असार २३, २०८० शनिबार १८:५९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।