११ प्रतिशतले बढ्यो अपराधका घटना, तीन महिनामा ३५ सय फरार अपराधी पक्राउ

११ प्रतिशतले बढ्यो अपराधका घटना, तीन महिनामा ३५ सय फरार अपराधी पक्राउ

काठमाडौं : मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ। गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो।

त्यसैगरी यस अवधिमा पक्राउ पर्नेको सङ्ख्या पनि ११.२२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बताए। 

कडायतका अनुसार साइबर अपराधका मुद्दामा सबैभन्दा बढी उजुरी परेको छ। अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा पनि दोब्बरले बढेको उनले बताए।

गत वर्षको तीन महिनामा एक हजार आठ सयको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो सङ्ख्या बढेर तीन हजार पाँच सयभन्दा बढी पुगेको छ। 

यस अवधिमा कूल तीन हजार पाँच सय ६२ जना फरार अपराधीलाई पक्राउ गरिएको छ। उनीहरुबाट एक हजार आठ सय ७० वर्ष १० महिना २५ दिन कैद असुल गरिएको छ भने तोकिएको रू ३० करोड ३८ लाख १६ हजार रकम असुल गर्नुपर्ने देखिएको प्रहरी प्रवक्ता कडायतले बताए।

यस अवधिमा गाँजा मात्रै ६ हजार नौ सय ६१ किलो, चरेस एक सय ७९ किलो, खैरो हेरोइन चार किलो २५ ग्राम र अफिम चार किलो ९८ ग्राम बरामद गरिएको छ। लागूऔषध ब्यूरोको विशेष अपरेसनमा रात्रिकालीन क्लबहरूमा गरिएको विशेष अपरेसनमा पाँच विदेशीसहित ११ जनालाई पक्राउ गरिएको छ। 

प्रहरीका अनुसार सहकारी ठगीका विषयमा पनि केही व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ। शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीका शाखा कार्यालयहरुबाट एक लाख ८९ हजार आठ सय ७९ निक्षेपकर्ताहरुको रू १२ अर्ब २३ करोड ५१ लाख रकम दुरुपयोग भएको भेटिएको कडायतले बताए।

उनका अनुसार उक्त रकम दुरुपयोगका आरोपमा सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरी कानुनी कारबाही थालिएको छ। 

अन्य सहकारी ठगीतर्फ रू दुई अर्ब ४४ करोड २१ लाख बिगो कायम गरी आरोपीविरुद्ध पाँचवटा मुद्दा दर्ता भएका छन् भने उक्त मुद्दामा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरिएको छ।

यस अवधिमा लामो हतियार एक सय ५३, छोटा हतियार १६, गोली एक सय ४७ र म्यागजिन ६ वटा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ६ हजारभन्दा बढी हातहतियार भने नष्ट गरिएका छन्। 

असार २३, २०८० शनिबार १८:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।