अफवाहले घोच्ने हाम्रा नयाँ ‘शासक’को मन कलामा घुस्दै गएको घातक राजनीतिले किन घोच्दैन!

अफवाहले घोच्ने हाम्रा नयाँ ‘शासक’को मन कलामा घुस्दै गएको घातक राजनीतिले किन घोच्दैन!

काठमाडौं : व्यक्तिगत सम्बन्धमा जब राजनीतिक घुस्छ त्यसले कसरी सामुदायिक हिंस्रक स्वरूप लिन्छ भन्ने कथामा आधारित फिल्म अफवाह नेटफ्लिक्समा रिलिज भए पनि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।

हिन्दु परिवारमा विवाह गरेकी युवती हिंसात्मक राजनीतिबाट दिक्क भएर परिवारबाट टाढा हुने प्रयास गर्दा उनको पक्षमा मुस्लिम युवा लाग्दा कसरी राजनीतिकरण गरेर सामान्य घटनालाई हिश्रक बनाइन्छ भन्ने यथार्थ देखिएको छ फिल्ममा।

व्यक्तिगत फाइदाका लागि सामाजिक सञ्जालको कसरी दुरुपयोग भइरहेको छ अनि स्वार्थी समूहले कसरी आफ्नो स्वार्थ अनुकूलको सामाग्री सञ्जालमा भाइरल बनाएर स्वार्थ पुरा गरिरहेका छन् भन्ने दृश्य भारतको भए पनि अहिले नेपालको राजनीतिकसँग समेत ट्वाक्कै मेल खान्छ।

कलालाई मनोरञ्जनसँग जोडेर हेरिए पनि अब कला क्षेत्र केवल मनोरञ्जनमा मात्र सीमित भएको छैन। स्वार्थ केन्द्रित राजनीतिक समूहले मनोरञ्जन क्षेत्रलाई राजनीतिको हतियार बनाइरहेको छ।

जब भारतमा भारतीय जनता पार्टीको उदय भयो त्यसपछि बनेका फिल्मले समाजमा अल्पसङ्ख्यक समुदायविरुद्ध विष भर्न कसरी कला क्षेत्रको दुरुपयोग गरेको छ भन्ने त भारतीय फिल्म द केरला स्टोरी नै काफी छ।

भारतमा पाकिस्तानविरोधी भावना बढाउन फिल्म बन्नु त सामान्य नै भयो। पछिल्लो समय हिन्दुवादको प्रचार गर्न अनि मुस्लिम विरोधी भावना बढाउने मनसायले समेत फिल्म बन्ने क्रम बढेका छन्।

त्यसको अर्को उदाहरण द काश्मीर फायल्स नै हो। यो गुजरात फायल्स नामक पुस्तकलाई काउन्टर दिन बनाइएको फिल्म भन्दा पनि फरक पर्दैन।

राना आयुवले भारतीय जनता पार्टीका नेता तथा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको गुजरात शासनमा भएका आपराधिक कामबारे विस्तृत अध्ययन गरेर लेखेको पुस्तक भारतमा प्रतिबन्ध बराबर छ।

त्यही किताब लेखेका कारण लेखिका अर्ध भूमिगत समान जीवन बिताउन बाध्य भएकी छिन्। तर भाजपाको हिन्दुवादी कट्टर र घातक सोच फैलाउन धमाधम फिल्महरू बनिरहेका छन् अनि भारतीय समाजले समेत त्यसलाई सहजै स्वीकार गरिसकेको छ।

त्यही शृङ्खलामा बनेको फिल्म थियो आदिपुरुष। महाभारतको रिमेकको रूपमा बनेको फिल्मको निर्माण टिम अनि लेखक भाजपा निकट रहेको कसैबाट लुकेको छैन।

जुन रूपमा संवादहरू राखियो त्यसले भारतमा समेत विवाद निम्तियो। नागरिकस्तरमा विरोध भयो। तर सामान्य बहानामा समेत फिल्म प्रतिबन्ध लगाउन सडकमा उत्रिएर बबन्डर मच्चाउने भारतीय जनता पार्टी यो विवादमा मौन बस्यो।

त्यसमा मुस्लिम कलाकारले राम या अन्य कुनै चरित्र निर्वाह गरेर त्यति घटिया संवाद बोलेको भए भारतमा फिल्मको हालत के हुन्थ्यो होला!

आर्थिक रूपमा फिल्म फ्लप सूचीमा चढ्यो। तर त्यसले कलामार्फत विजेपीले फैलाइरहेको हिन्दुवादलाई मलजलै गर्यो।

आदिपुरुषको बाछिटा नेपालसम्म पनि आइपुग्यो तर त्यसको नियत वा घटिया संवादका कारण हैन। फिल्ममा सिता भारतको पुत्री भनेको अफवाहका कारण समाज रूपान्तरणको अजेण्डा बोकेर उदाएका नयाँ युवा नेताहरू प्रतिरोधमा उत्रिए।

स्थानीय तहबाट सुरु भएको बहिष्कार छिटपुट अन्यत्र पनि फैलियो। भाजपाका कट्टर समर्थक जस्तै व्यवहार गर्ने उनीहरूका समर्थकबाट हुनसक्ने अराजकताबाट डराएर सरकारको सेन्सर बोर्डबाट पास भए पनि हलमा फिल्म लगाउने हिम्मत गरेनन् हल सञ्चालकहरूले।

कुनै एक स्थानीय नेताले फेसबुकमा लेखेर धम्क्याएकै भरमा फिल्म रोकियो। फिल्मको प्रदर्शन रोक्नुको कारण त्यसमा मिसिएको दूषित हिन्दुवादी राजनीतिक मनसाय वा तल्लोस्तरको संवाद कारण बनेको भए नयाँ नेताको परिवर्तित राजनीतिक चेतको सकारात्मक प्रतिनिधित्व गर्न सफल हुन्थ्यो यो प्रयास। तर हुँदै नभएको अफवाहको पछि लागे नयाँ नेता। उनका अन्ध समर्थक हो-हो को पछि लागे। फिल्म रोकियो।

उनीहरूलाई फिल्म कस्तो हो भन्नेसँग कुनै सरोकार थिएन। सरोकार थियो त कलामार्फत गरिने राजनीतिमा। के भन्यो भने सामाजिक सञ्जालको टाइमलाइन कब्जा गर्न सकिन्छ यति देखिएको उनीहरूको मिसन। अब सञ्जालमा उनीहरूको पक्षधरले गर्ने व्यवहारबारे उनीहरू जानकार नहुने प्रश्नै भएन। समर्थकहरूलाई पनि समर्थन गर्ने बहाना त चाहियो नै। राम्रै बहाना दिए अनि टाइमलाइन कब्जा पनि भयो। फिल्ममा त्यस्तो संवाद छ या छैन भन्नेसँग के सरोकार! उनीहरूका नयाँ भगवानले भनेपछि कालो पनि सेतै हो अनि सेतो पनि कालै हो।

भुटानमा रहेका नेपालीमुलका नागरिकलाई कसरी भुटानले लखेट्यो अनि भारतले कसरी सघायो भन्ने कथामा फिल्म बनाएर सहजै नेपालमा रिलिज गर्न सम्भव छ? पक्कै छैन।

सरी भारतमा कलामार्फत राजनीति घुसिरहेको छ नेपाली फिल्ममा पनि त्यो रोग सल्की सकेको छ। फैलने मौकाको पर्खाइमा देखिन्छन् उनीहरू। भोलीका दिनमा यसको असर देखिने पक्का छ।
भारतमा बन्ने फिल्महरूले पनि नेपालमा राम्रै मलजल गरेका छन् यसमा। स्थानीय तहदेखि केन्द्रसम्मका शासकहरूको चेतनास्तरबारे उनीहरू राम्रैसँग जानकार छन्।

यदि घातक राजनीतिक अजेण्डासहित बन्ने फिल्म नेपालमा रिलिज गर्न कठिन हुने भए नेपालमा मिलेर बसेका मुस्लिम समुदायविरुद्ध विष भर्ने उद्देश्यले निर्माण भएको द केरला स्टोरी कसरी सहजै नेपालमा रिलिज हुन सक्थ्यो।

नयाँ शासकमा यति राजनीतिक चेत भएको भए उनीहरू किन मौन बस्थे र! उनीहरू पनि हिन्दु अतिवादी सोचबाटै प्रभावित भएका छन् भन्ने निर्बाध रूपमा नेपालमा द केरला स्टोरीको रिलिजप्रतिको मौनताले नै पुष्टि गर्छ नै।

कलामा घुसेको राजनीतिभन्दा पनि नेपालका शासकहरू फोस्रो राष्ट्रवादबाट चाँडै उत्तेजित हुन्छन्। आदिपुरुषमा भएको पनि त्यही हो।

यो अहिले पनि हिजै देखिको शासकहरूमा रहेको रोग हो। आजका स्थानीय तहबाट उदाउँदै गरेका शासकले आदिपुरुषमा सिता त भारतको छोरी भनेर उतै लैजान आँट्यो भन्ने राष्ट्रवाद जाग्यो।

सन् २००० मा मिसन काश्मीरका अभिनेता ऋतिक रोशनले नेपाल र नेपाली मन पर्दैन भने भन्ने अफवाहले त्यसरी नै नेपालीहरूको राष्ट्रवाद जगाएको थियो।

त्यो राष्ट्रवादले हिंस्रक भिडको रूप लिँदा शान्ति सुरक्षा नै खलबलिएको थियो। दुई निर्दोषले ज्यान गुमाएका थिए। धन्न आदिपुरुषले जगाएको राष्ट्रवाद त्यो हदसम्म पुगेन। जब ऋतिकले जगाएको राष्ट्रवाद सेलायो उनले त्यस्तो कहिले अनि कहाँ भनेका थिए भन्ने नै फेला परेन।

‘चाँदनी चोक टु चाइना’ को एक संवादले राष्ट्रवाद जाग्दा फिल्म नेपालमा प्रदर्शन हुन सकेन। सन् २००९ मा रिलिज भएको यो फिल्ममा ‘गौतम बुद्ध भारतमा जन्मिएका हुन्’ भन्ने संवाद भएकै आधारमा नेपालमा प्रतिबन्ध लाग्यो। फिल्म रिलिज नभएकाले नेपालीको राष्ट्रवादमा ठेस लाग्न पाएन। शासकहरूले पहिल्यै बुद्धि पूर्याए।

अहिले पनि भारतमा पाकिस्तानविरोधी भावना बढाउन मलजल हुने गरी फिल्महरू बन्छन् नै। ती फिल्म निर्बाध नेपालमा रिलिज हुन्छन्। जसरी भारत नेपालको कूटनीतिक सम्बन्ध भएको देश हो पाकिस्तान पनि त्यही कोटीको देश हो नि।

जसरी नेपालमा भारत विरोधी अनि चीन विरोधी गतिविधिमा सरकारले चासो राख्छ पाकिस्तान लगायतका देश विरुद्धको गतिविधिमा पनि उत्तिकै चासो हुनुपर्ने हो नि। तर देखिन्न।

कसैले तिब्बतमा चीनले गरेको दमनबारे फिल्म बनायो भने नेपालमा सहजै रिलिज हुनसक्छ? भारतले कसरी सिक्किम कब्जा गरेर नेपालीमुलकालाई लखेटेको थियो भन्ने कथामा आधारित भएर नेपालीले नै फिल्म बनायो भने नेपालमा कुनै बाधाविना सेन्सर पास भएर रिलिज हुन सम्भव छ?

भुटानमा रहेका नेपालीमुलका नागरिकलाई कसरी भुटानले लखेट्यो अनि भारतले कसरी सघायो भन्ने कथामा फिल्म बनाएर सहजै नेपालमा रिलिज गर्न सम्भव छ? पक्कै छैन।

चीन या भारतको चित्त दुखाउने फिल्म बनाएर रिलिज गर्न सम्भव छैन भने पाकिस्तान वा मुस्लिम अल्पसङ्ख्यकको चित्त कुँडिने फिल्म कसरी नेपालमा सहजै रिलिज भइरहेका छन् ? अनि शासकहरू किन मौन छन्?

हिन्दुवादलाई बढवा दिने काश्मीर फाइल्स जस्ता फिल्मलाई भारतमा सत्ता नै लागेर प्रवर्धन गर्छन्। नेपालमा पनि सहजै रिलिज हुन्छ यस्ता घातक फिल्म। अनि हुँदै नभएको संवादबाट जाग्ने हाम्रो राष्ट्रवाद मौन रहन्छ यस्तो गम्भीर विषयमा। यसले नै प्रस्ट्याउँदैन र हाम्रो नयाँ अनि पुराना शासकहरूको चेतनास्तर?

असार २३, २०८० शनिबार १७:५८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।