भारतमा विश्वकप खेल्ने/नखेल्नेबारे निर्णय गर्न पाकिस्तानमा समिति गठन
एजेन्सी : भारतमा हुने आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानी टोलीको सहभागिताबारे अब एक समितिले निर्णय गर्ने भएको छ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले विश्वकपमा सहभागिताको निर्णय गर्न विदेशमन्त्री बिलावल भुट्टोको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेका छन्।
समितिले पाकिस्तान र भारतबीचको सम्बन्ध, खेलकुद र राजनीतिलाई छुट्टाछुट्टै राख्ने सरकारको नीति र भारतमा खेलाडी, अधिकारी, फ्यान र सञ्चारमाध्यमका लागि वातावरण बनाउने सरकारको नीतिलाई विचार गरी सरिफसमक्ष आफ्नो सिफारिस बुझाउनेछ।
प्रधानमन्त्री पाकिस्तान क्रिकेट बोर्डका मुख्य संरक्षक हुन्। विश्वकपको कार्यतालिका घोषणा भइसकेको अवस्थामा पाकिस्तानी टोलीले विश्वकपमा सहभागी हुने अपेक्षा गरिएको छ। यद्यपि अन्तिम निर्णय भने त्यहाँका प्रधानमन्त्रीले नै गर्नेछन्।
भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादमा हुनेछ। यसका लागि अहमदावादको सम्पूर्ण होटलहरु बुक भइसकेको र होटलको एउटा कोठाको भाडा १ लाखसम्म पुगेको समाचारसमेत भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएको थियो।
अक्टोबर ५ बाट शुरू हुने प्रतियोगितामा ४६ दिनसम्म भारतका विभिन्न १० शहरमा हुनेछ।
असार २३, २०८० शनिबार १६:३०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।