ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई एमालेले शक्तिका साथ संसद् अवरोध गर्‍यो : घनश्याम भुसाल

ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई एमालेले शक्तिका साथ संसद् अवरोध गर्‍यो : घनश्याम भुसाल

काठमाडौं : एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिनुको छटपटीलाई एमालेले अहिले शक्तिका साथ प्रयोग गरेर संसद् अवरोध गरेको बताएका छन्।

काठमाडौंमा केही सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव भुसालले भने, ‘ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिराख्नु भएको छ। जुन अनुचित छ।’

यस्तै महासचिव भुसालले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गर्नु एमालेको बचपना मात्रै भएको बताए।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति अनौपचारिक थियो,’ उनले भने, ‘त्यसैलाई आधार बनाएर प्रधानमन्त्रीको राजीनामा माग्नु बचपना हो, प्रधानमन्त्रीको पद सकाइदिन्छु भनेर लाग्नु मृगतृष्णा हो।’

उनले प्रधानमन्त्रीले पनि बोल्दा हरेक शब्द सोचेर बोल्नुपर्ने बताए।

‘आगामी दिनमा प्रधानमन्त्रीले अनौपचारिक वचनमा ध्यान दिनुपर्छ,’ उनले थपे, ‘प्रधानमन्त्री बोल्दाखेरि एकदमै औपचारिक भाषा बोल्नुपर्छ।’

प्रधानमन्त्रीका बोलीका बारेमा असन्तुष्टि राख्नेहरूले पनि कसरी बोल्नुपर्छ भनेर सल्लाह दिन सक्ने तर सीमा नाघेर ज्यान नै लिन्छु वा पदै सकाइदिन्छु भन्नु र्मगतृष्णाको कुरा मात्र भएको उनले बताए।

असार २३, २०८० शनिबार १४:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।