आत्महत्याप्रति गगनको टिप्पणी- युवाहरूलाई बाँच्ने आशा दिन नसक्ने हाम्रो राजनीतिको के अर्थ?

आत्महत्याप्रति गगनको टिप्पणी- युवाहरूलाई बाँच्ने आशा दिन नसक्ने हाम्रो राजनीतिको के अर्थ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूलाई बाँच्ने आशा देखाउन नसक्ने राजनीतिको अर्थ नहुने बताएका छन्।

टिकटकर मोनिकासिंह ठकुरी र अभिनेता शारुक ताम्राकारले आत्महत्या गरेको घटनालाई उल्लेख गर्र्दै उनले समाजको आवश्यकता बुझेर युवाहरूलाई बाँच्ने आशा देखाउन नसके राजनीतिको केही अर्थ नहुने बताएका हुन्।

उनले भने, ‘हामीले यतिका वर्ष देखि कसका लागि सङ्घर्ष गर्यौँ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ? खै हामीले समाजको आवश्यकता बुझेको? हामीले गर्ने राजनीति जनताको लागि हो। उहाँहरूको जीवन भौतिक विकास बाहेक अरू पनि थुप्रै विषयसँग जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो?’

महामन्त्री थापाले सामाजिक सञ्जालमा साथीको सङ्ख्या सँगै मानिसहरूको एक्लोपन बढेको भन्दै मनका कुरा राख्ने ठाउँ भेट्न छाडेकाले मानसिक रूपमा मानिसहरू विक्षिप्त भएको बताए।

‘मानसिक रूपमा सङ्घर्ष गर्दै छु भन्दा लाज मान्नु पर्ने कस्तो समाजको निर्माण गर्यौँ हामीले?’ उनले प्रश्न गरे, ‘कसैले हिम्मत गरेर मलाई परामर्श चाहिने छ भन्यो भने पनि शुल्कका कारण त्यो सुविधा लिन नसक्ने अवस्था छ।’

हरेक व्यक्तिले आफ्नो भावनात्मक, मानसिक स्वास्थ्यलाई बुझ्ने, सहयोग चाहिएमा प्रोफेसनल सहयोग पाउने अवस्था सृजना गर्नुपर्ने भन्दै महामन्त्री थापाले विद्यालयहरूमा सानै उमेरबाट बालबालिकाले यस्ता खाले जानकारी दिनुपर्नेमा जोड दिए।

उनले युवा कलाकारहरूको आत्महत्याको खबर र एकपछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको बताए। साथै अर्को एक जना कलाकारले त्यस्तै खालको अभिव्यक्ति देखेपछि एकदमै अत्यास लागेको उनको भनाइ छ।

मानसिक स्वास्थ्य सम्बन्धि चेतना, परामर्श र उपचार स्थानीय निकाय बाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माणका लागि आफूहरूले काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा मानसिक स्वास्थ्यका लागि आवश्यक थप सेवाहरू बिस्तार गर्ने प्रतिबद्धतासमेत उनले जनाए। त्यहाँ निःशुल्क सेवा लिन सकिने उनको भनाइ छ।

उनले अन्त्यमा भनेका छन्, ‘हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौ भने हामीले गरेको सङ्घर्षको, हाम्रो राजनीतिको के अर्थ?’

असार २३, २०८० शनिबार १४:१८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।