अज्ञात रोगले कालिकोटमा एकै गाउँमा तीन सय बढी बिरामी
मान्म : कालिकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन्। अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउँ पुगेको छ।
चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए। गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर नौ जना बिरामीको रगतको नमुना सङ्कलन गरी सुर्खेत पठाइएको महतले बताए।
बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिने लगायत लक्षण देखिएको छ। बिरामी हुने अधिकांशमा महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा. टङ्कप्रसाद आचार्यले जानकारी दिए।
उपचार गर्न आउने दुई सय ६ जना १५ वर्षमुनिका रहेको र सबै बिरामीमा एउटै किसिमको लक्षण भएको उनले बताए।
असार २३, २०८० शनिबार १४:०५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।