हाम्रो पार्टी कसैको पछि लाग्दैन, आगामी चुनावमा रास्वपा एक्लै लड्छ : रवि लामिछाने

हाम्रो पार्टी कसैको पछि लाग्दैन, आगामी चुनावमा रास्वपा एक्लै लड्छ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी कसैको पछि नलाग्ने र वि.सं २०८४ को चुनावमा एक्लै लड्ने बताएका छन्। 

पार्टीको शनिबार आयोजित तारकेश्वर नगरपालिका भेलामा उनले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर पार्टीले काम गर्ने बताए। 

आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताए। ‘आगामी निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ। अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौं,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे। ‘रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भष्ट्राचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौं,’ पूर्वगृहमन्त्री समेत रहेका उनले भने।

साथै लामिछानेले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु सधैं तयार रहेको बताए। उनले भने, ‘नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौं, जनताको आदेशअनुसार काम गर्छौं।’

असार २३, २०८० शनिबार १३:५१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।