'आदिपुरुष'का लेखकले मागे माफी

'आदिपुरुष'का लेखकले मागे माफी

काठमाडौँः विवादित भारतीय फिल्म आदिपुरुषका संवाद लेखक मनोज मुन्तसिरले हिन्दु धर्मावलम्बीहरूलाई चोट पुगेको भन्दै माफी मागेका छन्। 

सामाजिक सञ्जालमा शनिबार बिहान उनले लेखेका छन्, 'म आदिपुरुष फिल्मबाट जनभावनालाई पर्न गएको चोट स्वीकार गर्छु, मेरा सम्पूर्ण दाजुभाइ दिदीबहिनी,आदरणीय ऋषिमुनि तथा श्रीरामका भक्तजन सबैसँग हात जोडेर निःशर्त माफी माग्छु।'

फिल्म आदिपुरुष प्रदर्शनमा आएलगत्तै यसमा राखिएका दृश्य तथा संवादलाई लिएर नेपाल तथा भारतभर चर्को विरोध भएको थियो। फिल्ममा समावेश धेरैजसो दृश्यले रामायणको उपेक्षा गरेको त्यसका पात्रहरूलाई गलत ढंगले अर्थ्याइएको थियो। 

नेपालकी छोरी सीतालाई भारतमा जन्मिएको भन्ने संवाद राखिएको भन्दै काठमाडौँलगायत देशका केही मेयरले फिल्ममाथि  प्रतिबन्ध लगाएका थिए। 

तर मुन्तसिरले फिल्मको संवादबारे भने कुनै उल्लेख गरेका छैनन्। उनले रामायणको उपहास गरिएको प्रसंगमा मात्रै माफी मागेका छन्। 

असार २३, २०८० शनिबार ०९:३९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।