पर्सामा मिटरब्याजसम्बन्धी ९१ उजुरी फछर्योट

पर्सामा मिटरब्याजसम्बन्धी ९१ उजुरी फछर्योट

पर्सा : जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ९१ वटा उजुरी फछर्योट गरेको छ।

अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट ९१ उजुरी पीडितको पक्षमा फछर्योट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए। 

सहमति नभएपछि एउटा मुद्दा दर्ता भएको जनाएको छ। दर्ता भएका उजुरीमध्ये दुई सय ५५ उजुरीको छानबिन गर्दा ९१ वटामा दुवै पक्षबीच सहमति भएर फछर्योट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए।

मिटर ब्याजीविरुद्ध हाल अनलाइनबाट नयाँ उजुरी दर्ता हुने क्रम जारी रहेको र पुराना उजुरीको सम्बन्धमा क्रमशः छानबिन गरिरहेको उनको भनाइ छ। दर्ता हुने उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा जमिनसम्बन्धी मिटर ब्याज पीडितको उजुरी बढी छ। 

कसैकसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको उहाँले बताए।

परेको उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए। 

असार २३, २०८० शनिबार ०७:०३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।