अस्पतालको टेन्डर बदमासी पत्ता लगाउन बनेको समितिले नै लुकायो भक्तपुर र भरतपुरको बदमासी, ट्रमा र सुशीलको टेन्डरमाथि प्रश्न
काठमाडौँ : चार वटा अस्पतालका स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे छानबिन गर्न गठित समितिले निश्चित कम्पनीले दायर गरेको टेन्डरमा भएको बदमासी लुकाउँदै दुई वटा टेन्डरबारे मात्र प्रश्न उठाएको खुलेको छ।
उकेराले प्राप्त गरेको प्रतिवेदनमा भरतपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालले एक कम्पनीको उत्पादनसँग मात्र मिल्नेगरी मापदण्ड बनाएर अगाडि बढाएको एमआरआई र सिटी स्क्यानको टेन्डरबारे प्रतिवेदन मौन छ।
भरतपुर र भक्तपुरको टेन्डरमा प्राविधिक मापदण्डमा खेलेर सिमेन्सको मात्र उत्पादन मिल्नेगरी टेन्डरमा मिलेमतो भएको थियो। भरतपुरमा बढीमा २३ करोड पर्ने मेसिन ३१ करोड ४६ लाखमा किन्न प्रक्रिया अगाडि बढेको थियो भने भक्तपुरमा १८ करोडमा सिटी किन्ने तयारी भइरहेको छ।
तर प्रतिवेदनमा यी दुवै अस्पतालको व्यवस्थापन पक्षले मिलेमतो गरेर तयार पारेको प्राविधिक मापदण्डबारे केही उल्लेखै छैन। राष्ट्रिय ट्रमा सेन्टरको एमआरआई मेसिनको प्राविधिक मापदण्ड(टेक्निकल स्पेशिफिकेशन) बारे समितिले अध्ययन गरेको छ। अन्य दुई अस्पतालको प्राविधिक मापदण्ड प्रतिवेदनमा सिमेन्सबाट उत्पादित मेसिन मात्र मिल्ने प्रावधान राखिएको छ। तर समिति त्यता नगई टेन्डरको प्रशासनिक प्रक्रियामा मात्र प्रवेश गरेको छ।
खरिदको प्रशासनिक प्रक्रियामा मिलेमतो हैन, मिलेमतो प्राविधिक मापदण्डको विवरणमा हो। त्यता प्रवेश नगरी समितिले दुवै टेन्डरको मिलेमतोलाई सदर गर्ने खेल खेलेको प्रतिवेदनबाट प्रस्ट हुन्छ।
उकेरालाई प्राप्त प्रतिवेदन अनुसार असार १५ गते छानबिन समितिले प्रतिवेदन तयार गरी हस्ताक्षर गरेर स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई बुझाइसकेको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री बस्नेतले प्रतिवेदन अनुसार काम गर्न असार १७ गते नै निर्देशन समेत दिइसकेका छन्।
प्रतिवेदन हुबहु कार्यान्वयनमा आएमा भरतपुरको खरिद प्रक्रिया अगाडि बढ्ने देखिन्छ भने ट्रमाको खरिद प्रक्रिया रद्द हुने देखिन्छ।
स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्वास्थ्य उपकरण खरिद प्रक्रियाबारे छानबिन गर्न समिति गठन भएको थियो।
भरतपुर र ट्रमाको गरेर करिब ६० करोडको एमआरआई मेसिन खरिद प्रक्रिया र भक्तपुरको करिब १८ करोडको सिटी स्क्यानसँगै सुशील कोइरालाको लिन्याक मेसिन खरिद प्रक्रियाबारे छानबिन गर्न समिति गठन भएको थियो।
समितिको प्रतिवेदनमा भक्तपुरको खरिदबारे भरतपुर जस्तै मौन छ। भरतपुरको सिटी पनि सिमेन्सले पारेको थियो। सुशील कोइराला क्यान्सर अस्पतालको करिब २३ करोडको खरिद प्रक्रियाबारे भने गम्भीर त्रुटिहरू देखाएको छ।
समिति गठन हुँदा नै त्यसका संयोजक वीर अस्पतालका वरिष्ठ मेडिकल फिजिसिष्ट डा. कन्चन प्रसाद अधिकारी र सिमेन्सविच निकट सम्बन्धमा रहेको दाबी आएका थिए। प्रतिवेदन पनि जहाँ जहाँ सिमेन्सको मिलेमतो देखिएको छ त्यहाँको टेन्डर प्रक्रियाबारे नरम देखिएको छ।
छानबिन समितिको सदस्यमा स्वास्थ्य मन्त्रालयका कानुन शाखाका (प्रमुख) उपसचिव रेशराज शर्मा, कर्मचारी प्रशासनका उपसचिव कृष्ण थापा, लेखा अधिकृत शालिग्राम चौधरी र स्वास्थ्य सेवा विभागका बायोमेडिकल इन्जिनियर आशीष चौहान थिए।
सो समितिले भरतपुर र ट्रमा सेन्टरमा खरिद प्रक्रियामा रहेको एमआरआई मेसिन र भक्तपुर अस्पतालमा खरिद प्रक्रियामा रहेको सिटी स्क्यान मेसिनमा देखिएको खरिद अनियमिताको विषयमा सुरुदेखि नै उकेराले समाचार सम्प्रेषण गर्दै आएको थियो।
समिति गठनमै शंका
स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा असार एक गते सचिवस्तरीय निर्णय भएर उपकरण खरिदमा भएको अनियमितताबारे छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो।
समितिलाई टेन्डर प्रक्रियामा मिलेमतो भएको हो या हैनसँगै त्यसको प्राविधिक पक्षबारे समेत अध्ययन गर्न कार्यक्षेत्र तोकिएको थियो। तर प्रतिवेदन हेर्दा भएका बदमासी सार्वजनिक गर्ने भन्दा पनि ढाकछोप गर्ने नियत बढी देखियो।
उकेरालाई प्राप्त छानबिन समितिको प्रतिवेदनको अंशमा समिति मेसिन खरिदका लागि भएका प्राविधिक पक्षलाई भन्दा प्रशासनिक प्रक्रियागत पक्षमा बढी केन्द्रित भएको देखिन्छ।
तर, निश्चित कम्पनीसँग मिलेर उसैको उपकरण खरिद गर्न सबैभन्दा धेरै उपकरणको मापदण्डमै मिलेमतो भएको थियो। अस्पतालहरूले प्राविधिक स्पेशिफिकेशन तयार गर्दा नै निश्चित मापदण्ड लक्ड नै गरेको यस अगाडि नै उकेराले विस्तृत रूपमा खुलाइसकेको छ।
अध्ययन समितिले खरिदमा अनियमितता भएको हो वा हैन भन्ने निष्कर्ष समेत दिन सकेको छैन।
ट्रमा सेन्टरको एमआरआई खरिदमा गडबड
स्वास्थ्य सचिव डा. रोशन पोख्रेलको इन्ट्रेस्टमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले मेसिन उत्पादक कम्पनी सिमेन्सको नेपालस्थित सप्लायर्स कम्पनी इष्ट वेस्ट कन्सर्नलाई नै टेन्डर पर्ने गरी एमआरआई मेसिनको खरिद प्रक्रिया अगाडि बढाएका थिए।
भरतपुर अस्पतालले ३१ करोड ४६ लाख रुपैयाँ मूल्य बराबरको लागत अनुमान तयार गरेर थ्री टेस्ला एमआरआई मेसिन इष्ट वेस्ट कन्सर्न प्रालिसँग किन्ने गरी प्रक्रिया अगाडि बढाएको थियो। सो कम्पनीले त्यस्तै किसिमको मेसिन निजामती अस्पताललाई २२ करोड ७६ लाखमा दिएको थियो।
त्यसैगरी ट्रमा सेन्टरका पूर्व निर्देशक डा. रुद्रप्रसाद मरासिनीले करिब २५ करोडभन्दा कम मूल्यमा आउने एमआरआई मेसिन ३० करोडमा खरिद गर्नका लागि टेन्डर प्रक्रिया अगाडि बढाएका थिए। उनले युनाइटेड इमेजिङको चिनिया एमआरआई खरिद गर्ने तयारी गरेका थिए।
राष्ट्रिय ट्रमा सेन्टरको एमआरआईको सवालमा ‘स्थलगत अवलोकन समितिबाट मिति २०८० असार ५ गते राष्ट्रिय ट्रमा सेन्टरमा गई थ्रि टेस्ला एमआरआई मेसिन खरिद प्रक्रियासँग सम्बन्धित कर्मचारी-प्राविधिक र अस्पताल प्रमुख सहित भएको छलफल एवं उक्त अस्पताल मार्फत प्राप्त थ्रि टेस्ला एमआरआई मेसिन खरिद सम्बन्धी कागजातहरूको प्रतिलिपि समेत अध्ययन गरेको’प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन अनुसार ‘राष्ट्रिय ट्रमा सेन्टरले २०७९ भदौ २७ मा नयाँ मोडलको थ्रि टेस्ला एमआरआई मेसिन तुरुन्त खरिद गर्न ३० करोड अनुमान गरेर बजेटको व्यवस्थापन वा स्रोत सुनिश्चित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्र पठाएको देखिन्छ।
मन्त्रालयको नीति तथा योजना शाखाको २०७९ असोज १४ को पत्रबाट कार्यक्रम संशोधन र रकमान्तर तथा एलएमबीआईएस अनुमतिका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको थियो।
अर्थले थ्रि टेस्ला एमआरआई मेसिन किन्ने प्रक्रिया अगाडि बढाउन सहमति दिएको प्रतिवेदनमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालयले एमआरआई खरिदका लागि सहमति दिएकै दिन ट्रमा सेन्टरले हतार हतार (असोज १४ गते) स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखालाई पत्र पठाएर एमआरआईको प्राविधिक स्पेशिफिकेशन उपलब्ध गराइदिन माग गरेको देखिन्छ।
ट्रमा सेन्टरको टेक्निकल स्पेशिफिकेशन तयार गर्दाको अवस्थामा नै गडबडी देखिएको अध्ययन प्रतिवेदनमा सङ्केत गरिएको छ।
प्रतिवेदन अनुसार राष्ट्रिय ट्रमा सेन्टरले २०७९ असोज १४ गते स्पेशिफिकेशन माग्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा पत्र पठायो।
पत्रमा हाल बजारमा उपलब्ध हुने अद्यावधिक मोडेलको थ्रि टेस्ला एमआरआई मेसिनको डिटेल्स टेक्निकल स्पेशिफिकेशन उपलब्ध गराउन भनिएको थियो।
सोही पत्र अनुसार महाशाखाले बायोमेडिकल इन्जिनियर पद्मा मिश्रा र स्मृति काफ्लेले तयार पारेको पाना ७ को डिटेल्स टेक्निकल स्पेशिफिकेशन असोज २६ गते ट्रमामा पठायो।
तर सो डिटेल्स टेक्निकल स्पेशिफिकेशन स्वास्थ्य सेवा विभागमा रहेको स्पेशिफिकेशन बैङ्कसँग मिलेन। योसँगै राष्ट्रिय ट्रमा सेन्टरमा पठाएको डिटेल्स टेक्निकल स्पेशिफिकेशन स्वास्थ्य सेवा विभाग (महानिर्देशक स्तर) बाट निर्णय भएर पठाए-नपठाएको समेत खुल्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी ट्रमा सेन्टरका प्रमुखबाट सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५ को अधीनमा रही असोज २७ मा स्पेशिफिकेशन स्वीकृत गरेर खरिद प्रक्रिया अगाडी बढाउने निर्णय भएको खुलेको छ।
प्रतिवेदनको यो बुँदालाई हेर्दा विभागबाट स्पेशिफिकेशन आएको भोलिपल्टै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. मरासिनीले हतार हतार स्पेशिफिकेशन स्वीकृति गरेको देखिन्छ। तर महाशाखाको स्पेशिफिकेशन बैङ्कमा रहेको र ट्रमामा पुगेको स्फेसिफिकेशन कसरी फरक भयो भन्नेबारे प्रतिवेदन बोल्दैन। कसले संशोधन या छेडखानी गर्यो भन्ने पनि उल्लेख छैन।
प्रतिवेदन अनुसार लागत अनुमान तयार गर्न बजार दररेट लिने सम्बन्धमा स्वीकृत स्पेशिपिकेशन बमोजिमको थ्रि टेस्ला एमाआई मेसिन खरिदका लागि आरबि. रेडियोलोजी प्रालि, प्रिमियम हेल्थ केयर प्रालि र लुम्बिनी हेल्थ केयर प्रालिसँग २०७९ असोज २६ मा ट्रमा सेन्टरले दररेट मागेको थियो।
तीनै वटा कम्पनीले दररेट पेस गरेको अनि औसत दर २९ करोड ९६ लाख ६६ हजार सात सय रकमको लागत अनुमान भने असोज २३ मा सचिवबाट स्वीकृत भएको मन्त्रालयको नीति तथा योजना शाखाको कात्तिक २४ को पत्रमार्फत देखिएको प्रतिवेदनमा उल्लेख छ।
ट्रमा सेन्टरबाट तयार भई स्वीकृतिको लागि मन्त्रालयमा पेस भएको बोलपत्र कागजात मिति २०७९ कात्तिक २७ मा सचिवबाट स्वीकृति भएको देखिन्छ।
२०७९ कात्तिक २८ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वानको सूचना प्रकाशन भएको प्रतिवेदनमा उल्लेख छ। यसरी हेर्दा ट्रमा सेन्टरले हतार हतारमा निश्चित कम्पनीलाई नै एमआरआई खरिदको टेन्डर पर्ने गरी हतारमा एमआरआई खरिद प्रक्रिया अगाडि बढाएको देखिन्छ।
लुम्बिनी हेल्थ केयरले ल्याउने युनाइटेड इमेजिङको एमआरआइसँग मात्र स्पेशिफिकेशन मिलेको भन्दै अन्य सप्लायर्स प्रिबिड बैठकमा गए तर स्पेशिफिकेशन संशोधन नगरी बैठकको छलफलमा बस्नुको अर्थ नहुने भनेर बहिष्कार गरेर हिँडे। ट्रमा सेन्टरले जबरजस्ती खरिद प्रक्रिया अगाडी बढायो।
२०७९ पुस १४ गते बिहान ११ : २५ मा लुम्बिनी हेल्थ केयर प्रालिबाट मात्र अनलाइन-विद्युतीय बोलपत्र दर्ता भयो। उक्त बोलपत्र बोलपत्रदाताको प्रतिनिधि र अस्पतालका प्रतिनिधि बसेर खोलिएको मुचुल्काबाट देखिएको प्रतिवेदनमा उल्लेख छ।
‘तोकिएका समयभित्र रितपूर्वक लुम्बिनी हेल्थ केयर प्रालि काठमाडौँले अमेरिकी डलर २२ लाख १८ हजार (भ्याट र कस्टम बाहेक)प्रस्ताव गरेको लेटर अफ बिड प्राइजबाट देखिएको’ प्रतिवेदनमा उल्लेख छ।
एकल बोलपत्र मात्र किन पर्यो, प्रिबिड बैठकमा अन्य कम्पनीका प्रतिनिधि उपस्थित भएर पनि किन बहिष्कार गरे अनि स्पेशीफिकेशन खुल्ला थियो या कुनै निश्चित कम्पनीको मेसिनसँग मात्र मिल्नेगरी लक्ड गरिएको थियो सो भने प्रतिवेदनमा उल्लेख छैन।
प्रतिवेदन अनुसार लुम्बिनी हेल्थ केयर प्रालीले दर्ता गरेको बोलपत्र अस्पतालमा गठित बोलपत्र मूल्याङ्कन समिति-प्राविधिक समितिबाट प्राविधिक पक्ष र आर्थिक पक्ष मूल्याङ्कन भएर बोलपत्र स्वीकृतिको चरणमा रहेको उल्लेख छ।
सोही अनुसार बोलपत्र स्वीकृति गर्न बजेट सुनिश्चितताका लागि ट्रमाले २०८० जेठ १६ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बजेट व्यवस्थापन र निकास गर्न अनुरोध गर्दै पत्राचार गरेको देखिन्छ।
एमआरआई खरिदका लागि प्राविधिक तथा आर्थिक दुवै मूल्याङ्कनमा लुम्बिनी हेल्थ केयर प्राली छनोट भएको देखिन्छ। तर विवादपछि ट्रमाले बोलपत्र स्वीकृत गरेन। मरासिनीको पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा भयो। अहिले ट्रमामा डा बद्री रिजाल आएका छन्।
भरतपुरको एमआरआईमा अलमल
छानबिन समितिको प्रतिवेदन अनुसार भरतपुर अस्पतालमा एमआरआई मेसिन खरिद र जडान कार्यक्रमको लागि २५ करोड रकम विनियोजन भएको देखिन्छ।
भरतपुर अस्पतालले अस्पतालको लागि चाहिने एमआरआई मेसिनको प्राविधिक पक्ष अध्ययन एवं परामर्शका लागि प्राविधिक स्पेशिफिकेशन तयार गर्न सोही अस्पतालको रेडियोलोजी विभागीय प्रमुखको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समिति गठन गरेको देखिन्छ।
अस्पताले गठन गरेको प्राविधिक समितिको बैठकबाट हाइ इण्ड थ्रि टेस्ला एमआरआई मेसिनको डिटेल टेक्निकल स्पेशिफिकेशन तयार गरी अस्पताल प्रमुख समक्ष ०७९ भदौ २६ मा प्रतिवेदन पेस भयो।
प्राविधिक समितिले हाइ इण्ड थ्रि टेस्ला एमआरआई मेसिनको डिटेल्स् टेक्निकल स्पेशिफिकेशन तयार गर्दा त्रिवि. शिक्षण अस्पताल महाराजगन्ज र निजामती कर्मचारी अस्पतालले एमआरआई मेसिन खरिदका लागि तयार भएको स्पेशिफिकेशनलाई समेत अध्ययन गरी तयार गरेको प्रतिवेदनमा उल्लेख छ।
स्वीकृत स्पेशिफिकेशन बमोजिमका हाइ इण्ड थ्रि टेस्ला एमआरआई मेसिन खरिदका लागत अनुमान तयार गर्ने प्रयोजनको लागि लुम्बिनी हेल्थ केयर प्रालि, म्याक्स मेडिटेक सिस्टम प्रालि, इष्ट वेस्ट कन्सर्न प्रालि र प्रिमियर हेल्थ केयर प्रालिसँग दररेट माग गरिएको थियो।
यी चार वटै सप्लायर्सले बजार दररेट पेस गरेको र सोको आधारमा भरतपुर अस्पताल तयार गरेको ३१ करोड ४६ लाख ७१ हजार चार सय ७१ (मु.अ.कर बाहेकको)रकमको लागत अनुमान २०७९ कात्तिक २३ मा सचिवबाट स्वीकृत भएको थियो।
प्रतिवेदनमा निजामती अस्पतालको समेत स्पेशिफिकेशन अध्ययन भएको त उल्लेख गरियो। तर त्यहाँ सो मेसिन २२ करोडमा किनिएकोबारे उल्लेख गरिएन। प्रतिवेदनमा निजामतीले २२ करोडमा किनेको एकै कम्पनीको मेसिनको लागत कसरी ३१ करोड ४६ लाख बनाइयो त्यो पनि उल्लेख छैन। आठ करोड लागत फरक पर्नुको कारण पनि प्रतिवेदनमा उल्लेख छैन।
भरतपुर अस्पतालले तयार पारेको प्राविधिक स्पेशिफिकेशन सिमेन्सको एमआरआई मेसिनलाई मात्र मिल्ने गरी बनाइएको उकेराले प्राप्त गरेको स्पेशिफिकेसनले पुष्टि गर्छ। तर छानबिन समिति टेन्डरमा मिलेमतो गर्न जुन पक्षमा चलखेल भएको हो त्यता नगएकाले समितिको नियत समेत शंकामा परेको छ। भरतपुर अस्पतालले टेन्डर भने स्वीकृत गरिसकेको छैन।
भक्तपुर क्यान्सरको सिटी खरिदमा प्रतिवेदनै अलमलमा
भक्तपुर क्यान्सर अस्पतालमा २५६ स्लाइसको सिटी स्क्यान मेसिन करिब १८ करोडमा खरिदका लागि सिमेन्स कम्पनीकै नेपालस्थित इष्टवेष्ट कन्सर्नलाई टेन्डर दिने योजनासहित टेन्डर प्रक्रिया अघि बढिरहेको छ।
भक्तपुर अस्पतालले २०८० वैशाख १३ गते सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर गरेको थियो।
मेसिन खरिदका लागि सप्लायर्स कम्पनीहरूले मेसिन ल्याइदिन टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति असार तीन गतेसम्म थियो। सो मितिमा अन्य कम्पनीको मेसिनसँग मिल्नेगरी प्राविधिक स्पेसिपिकेशन नै नबनाएर सिमेन्स कम्पनीसँग मात्रै मिल्ने भएपछि अन्य कम्पनीले असहमति जनाउँदै टेन्डर प्रस्ताव दर्ता समेत गरेनन्।
उकेराले भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिनको टेन्डर हुनु पूर्व २०७९ माघ १३ गते नै भक्तपुर क्यान्सर अस्पतालले खरिद गर्न लागेको सिटी स्क्यान मेसिनमा सेटिङको विषयमा समाचार सम्प्रेषण गरेको थियो।
भक्तपुर क्यान्सर अस्पतालको सिटी स्क्यान मेसिन खरिद प्रक्रियाको सवालमा ‘२०८० असार ३ मा दिउँसो दुई बजे बोलपत्र लेखिएको मुचुल्कामा उल्लेख भए बमोजिम इष्ट वेस्ट कन्सर्न प्रालि, काठमाडौँको बोलपत्र १८ जुन २०२३ समय ११ : ३६ मा अनलाइनमार्फत दर्ता भएको र सो बोलपत्र बोलपत्रदाताको प्रतिनिधि र अस्पतालका प्रतिनिधि बिचमा खोलिएको टेक्निकल बिड ओपनिङ रेकर्ड (मुचुल्का) बाट देखिएको’ छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी ‘बोलपत्र सूचनामा तोकिएको समय भित्र रितपूर्वक इष्ट वेस्ट कन्सर्न प्रालिबाट दर्ता हुन आएको बोलपत्रको अस्पतालमा गठित बोलपत्र मूल्याङ्कन समिति-प्राविधिक समितिबाट प्राविधिक पक्षको मूल्याङ्कन भई आर्थिक प्रस्ताव खोल्न २०८० असार ६ गते गोरखापत्रमा सूचना प्रकाशन भएको’ लगायतका प्रशासनिक प्रक्रियागत विषय मात्र उल्लेख छ प्रतिवेदनमा।
यसमा पनि समितिले बढो चलाखी गर्दै मिलेमतो गर्दै लक्ड गरिएको स्पेशिफिकेशनबारे केही उल्लेखै गरेको छैन। उकेरालाई प्राप्त अध्ययन प्रतिवेदनको निचोड हेर्दा छानबिन समितिले प्राविधिक पक्षलाई भन्दा प्रशासनिक प्रक्रियाको पक्षलाई जोड दिइएको छ। जबकि खेल प्राविधिक पक्षमा खेलिएको थियो।
सुशील कोइरालाको लिन्याकमा गडबड
उता बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले लिन्याक मेसिन खरिदका लागि बेलायतको इलेक्टा लिमिटेडको बोलपत्र स्वीकृत गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२१ अगस्ट २४ मा खरिद सम्झौता भएकोमा बोलपत्र प्रस्ताव गरे वा सम्झौतामा उल्लेख भए भन्दा फरक हुने गरी (टेक्निकल स्पेशिफिकेशन, प्राइज सेड्युल, परफर्मा इन्भ्वाईस तथा प्रज्ञापन पत्र) आपूर्ति गरिने उपकरणको उत्पादक देश, ‘एचएस कोड’ लगायतको विवरण फरक परेको विषयमा स्थलगत अवलोकन समितिबाट २०८० असार ७ र ८ गते सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गई लिन्याक मेसिन खरिद प्रक्रियासँग सम्बन्धित कर्मचारी-प्राविधिक र अस्पताल प्रमुख (निमित्त कार्यकारी निर्देशक) सहित भएको छलफल तथा लिन्याक मेसिन जडान भइरहेको अवस्थाको अवलोकन गरेको प्रतिवेदनमा उल्लेख छ।
सो अस्पताल मार्फत प्राप्त लिन्याक मेसिन खरिद सम्बन्धी कागजातहरूको प्रतिलिपि समेत अध्ययन गर्दा लिन्याक खरिद सम्बन्धी बोलपत्रबारे समितिले व्याख्या गरेको छ।
बोलपत्रदाता इलेक्टा लिमिटेडले बोलपत्रसाथ पेस गरेको प्राइज सेड्युलमा ‘कन्ट्री अफ ओरिजिन यूके-यूएसए-चाइना’ उल्लेख भएको अध्ययन प्रतिवेदनले औँल्याएको छ।
‘टेक्निकल स्पेशिफिकेशन फर सप्लाई, टेस्टिङ एन्ड कमिशियोनिङ अफ एडभान्स डिजिटल प्लेटफर्म ट्रिपल हाई इनर्जी लिनियर एक्सेलेरेटर–१ सेट कागजातमा कन्ट्री अफ ओरिजिनः युनाइटेड किङडम उल्लेख भएको र अमेरिकी डलर २१ लाख ३१ हजार पाँच सय रकम बराबरको खरिद सम्झौता भएको देखिएको’ प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी बोलपत्रदाता इलेक्टा लिमिटेडले पेस गरेको बोलपत्र स्वीकृत भएपछि सन् २०२१ मा अस्पताल र इलेक्टा बिच ‘लिनियर एक्सेलेरेटर सिस्टम मोडेल : एलेक्टा भेर्सा एचडी खरिद गर्ने सम्झौता भएको देखिएको अध्ययनले देखाएको छ।
भन्सार प्रज्ञापन पत्र र खरिद सम्झौताका अन्य प्रक्रियागत कागजातमा उल्लेख भए बमोजिम लिनियर एक्सेलेरेटर (लिन्याक) को ‘कन्ट्री अफ ओरिजिन एन्ड हार्मोनाइज्ड सिस्टम कोड (एचएस कोड) फरक–फरक उल्लेख भएको देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी अस्पतालमा हाल जडान भइरहेको उपकरण लिनियर एक्सेलेरेटर (लिन्याक) मेसिनको प्रारम्भिक भौतिक अवस्था हेर्दा उपकरणमा उल्लेख भएको मोडेल नम्बर आपूर्तिकर्ता कम्पनीले बोलपत्र प्रस्ताव गरेको वा सम्झौतामा उल्लेख भए अनुसारको ‘लिनियर एक्सेलेरेटर सिस्टम मोडेल: इलेक्टा भेर्सा एचडी’ नामको उपकरण नै आपूर्ति भएको देखिएको अध्ययनले देखाएको छ।
प्रतिवेदनमा उपकरण आयात-निर्यात गर्दा बोलपत्रमा प्रस्ताव गरेको भन्दा कन्ट्री अफ आरिजिन र भन्सार प्रयोजनका लागि प्रयोग हुने हार्मोनाईज स्ट्याण्डर्ड (एचएस) फरक फरक देखिएकाले उपकरण पूर्ण रूपमा इन्टलेशन भएपछि एसेप्टेन्स टेस्टिङ कमिसिओनिङ गरी सो परीक्षणबाट मात्र स्वीकृत स्पेशिफिकेशन बमोजिम उपकरण रहे-नरहेको निश्चित गर्न सकिने’ उल्लेख छ।
अध्ययन प्रतिवेदनमा अहिलेको अवस्थामा उपकरणको गुणस्तर यकिन गर्न नसकिने उल्लेख गर्दै उक्त उपकरण पूर्ण रूपमा जडान भएपछि एसेप्टेन्स टेस्टिङ एन्ड कमिसिओनिङ गरी मात्र गुणस्तर निश्चित गर्न सकिने’ उल्लेख छ।
त्यसैगरी खरिद सम्झौता ट्रङ्की भएको हुँदा एसेप्टेन्स टेस्टिङ एन्ड कमिसिओनिङमार्फत सम्पूर्ण कामको गुणस्तर जाँच हुने हुँदा र खरिद सम्झौता बमोजिम आपूर्ति गर्नु पर्ने उपकरणको सुनिश्चित हुने देखिएको अध्ययनले सुझाव दिएको छ।
सम्बन्धित समाचार
असार २२, २०८० शुक्रबार २१:५८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।