सडक निर्माण सम्पन्नको सिफारिस दिन ७० हजार घुस, वडाध्यक्ष र वडासचिवविरुद्ध मुद्दा दायर

सडक निर्माण सम्पन्नको सिफारिस दिन ७० हजार घुस, वडाध्यक्ष र वडासचिवविरुद्ध मुद्दा दायर

काठमाडौं : धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुससहित फेला पारेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

यादव र मिश्रले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरी दिएवापत सेवाग्राहीसँग घुस मागेको अनुसन्धानमा पुष्टि भएको आयोगको दाबी छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ७० हजार रुपैयाँ बिगो, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानासमेतको माग गरिएको छ।

असार २२, २०८० शुक्रबार १७:११:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।