इमर्जिङ कपमा सन्दीप र दीपेन्द्र नखेल्ने, ग्लोबल टी-२० लिग खेल्न क्यानडा जाने
काठमाडौं : सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एसीसी इमर्जिङ टिम्स एसिया कप गुमाउने भएका छन्। ग्लोबल टी-२० फ्रेन्चाइज लिग खेल्न क्यानडा जाने हुनाले यी दुईले अर्को सातादेखी सुरु हुने इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका हुन्।
एकदिवसीय विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि नेपालका कप्तान रोहितले यी दुई खेलाडी इमर्जिङ कपमा नहुने बताए।
इमर्जिङ टिम्स एसिया कप जुलाई १४ देखि श्रीलंकामा आयोजना हुँदैछ भने ग्लोबल टी-२० लिग जुलाई २० देखि क्यानडामा हुँदैछ।
क्यानडाको ग्लोबल टी-२० फ्रेन्चाइज लिगमा नेपालबाट स्टार स्पिनर सन्दीप र अलराउन्डर दीपेन्द्रलाई क्लबले अनुबन्धित गरेका छन्।
पहिलो पटक विदेशी लिग खेल्न लागेका दीपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले र सन्दीप लामिछानेलाई सर्रे जगुआरले किनेको हो।
नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो। इमर्जिङ कपमा नेपालले समूह चरणमा पाकिस्तान र भारतको ‘ए’ टिम र यूएईसँग भिडन्त गर्नेछ।
असार २२, २०८० शुक्रबार १५:२८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।