ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि उम्कन पाउँदैन : गृहमन्त्री श्रेष्ठ

ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि उम्कन पाउँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि उम्कन नपाउने बताएका छन्।

ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको अनौपचारिक कुराकानीमा उनले सरकारको ध्यान अब ललितानिवास जग्गा प्रकरणमा केन्द्रित भएको उल्लेख गर्दै प्रहरीले निष्पक्ष ढङ्गबाट अनुसन्धान अगाडि बढाएको बताए।

‘हामीले प्रस्ट निर्देशन दिएका छौं, कुनै राजनीतिक दबाब र प्रभावमा नपर्नु, राजनीतिक ‘कनेक्सन’का आधारमा के गर्ने भनेर नसोच्नु,’ श्रेष्ठले भने, ‘कुनै प्रकारको चलखेलले भूमिका खेल्न नपाओस्, स्वतन्त्र स्वच्छ अनुसन्धान गर्नुस्, जो दोषी छ, दोषीलाई कानुनको दायरामा ल्याउनका लागि निर्भिकताका साथ अगाडि बढ्नुस् भन्ने प्रहरीलाई निर्देशन छ।’ 

ललिता निवासको जग्गा सरकारकै भएको दाबी गर्दै उनले विभिन्न समयमा भएका छानबिन र प्रहरी अनुसन्धानले पनि यो प्रस्ट्याएको बताए। 

साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरण  राज्यकै मुख्य ठाउँमा बसेर राज्यलाई नै अपमानित गर्ने लज्जास्पद घटना भएको बताए। ‘यो पीडादायी घटना हो। सो प्रकरणमा संलग्न जो कोहीलाई कानुनको दायरामा ल्याउने प्रक्रिया अगाडि बढेको छ,’ उनले भने। 

भुटानी शरणार्थी प्रकरणमा जनताको मनमा उब्जेका प्रश्नलाई गम्भीरताका साथ लिएर थप अनुसन्धान गर्न आफूले प्रहरीलाई निर्देशन दिएको उनले उल्लेख गरे।

‘एउटा-एउटा ‘केस’ वा व्यक्तिका बारेमा हामी निर्देशन दिंदैनौं। कुनै व्यक्तिलाई पक्रने कि नपक्रने, कुनै मुद्दामा अगाडि बढ्ने कि नबढ्ने भनेर हामीले निर्देशन नपर्खनु भनेको छौं।’

असार २२, २०८० शुक्रबार १५:०३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।