प्रधानमन्त्री प्रचण्डको दिल्ली अभिव्यक्तिले राष्ट्रिय सभाको बैठक चल्न सकेन, एमाले सांसद राजिनामामा अडिए

प्रधानमन्त्री प्रचण्डको दिल्ली अभिव्यक्तिले राष्ट्रिय सभाको बैठक चल्न सकेन, एमाले सांसद राजिनामामा अडिए

काठमाडौँ : राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्मा जवाफ दिने वातावरण बनाउन आग्रह गरेका छन्। शुक्रवार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेपछि उनले संसद्मा प्रधानमन्त्रीलाई आफ्नो कुरा राख्न दिन आग्रह गरेका हुन्।

सभाको बैठक सुरु भए लगत्तै एमाले सांसदहरू उठेपछि उनले एमाले सांसद विमला घिमिरेलाई आफ्नो कुरा राख्ने समय दिएका थिए। सांसद घिमिरेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद्को कार्यसूची अगाडि नबढाउन आग्रह गर्दै ‘नेपालको प्रधानमन्त्री नेपालले बनाउँछ कि दिल्लीले?’ भन्ने प्रश्न गरेकी थिइन्।

प्रतिउत्तरमा तिमल्सिनाले सांसदको प्रश्न प्रधानमन्त्रीलाई भएको हुन सक्ने भन्दै जवाफका लागि वातावरण बनाउन आग्रह गरेका थिए।

‘नेपालको सरकार नेपालले बनाउँछ कि बाहिरबाट भनेर सोध्नुभएको छ। यसको उत्तर दिन प्रधानमन्त्रीले यहाँ बोल्ने वातावरण बनाउनुपर्छ। यस्ता जिज्ञासाहरू प्रश्नहरूको बारेमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔँ’ उनले भने।

तिमल्सिनाको आग्रह पछि पनि राष्ट्रिय सभाको बैठक चल्न सकेन। एमाले सांसदहरूले सभामा उठेर विरोध गरिरहे।

सोमबार एक किताब विमोचनमा प्रधानमन्त्री प्रचण्डले किताबका पात्र भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको प्रसङ्ग निकालेका थिए। त्यसयता एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन।

यसबारे प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रम अनि प्रेस नोट निकालेर प्रस्टीकरण दिइसकेका छन्। तर एमाले राजीनामाको अडानमा अडिएको छ।

सम्बन्धित समाचार

असार २२, २०८० शुक्रबार १३:१०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।