लुम्बिनीमा सरकार विस्तारको तयारी, मन्त्रीमा कांग्रेस र माओवादीको पालो

लुम्बिनीमा सरकार विस्तारको तयारी, मन्त्रीमा कांग्रेस र माओवादीको पालो

बुटवल : लुम्बिनीमा प्रदेश सरकार विस्तारको तयारी सुरु भएको छ। हाल तीनवटा मन्त्रालय खाली रहेकाले प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी सरकार विस्तारको लागि छलफलमा जुटेका छन्।

प्रदेश सभाबाट बजेट समेत पास भइसकेकाले सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको हो। आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले खाली रहेका मन्त्रालयहरुमा मन्त्री नियुक्त गर्ने तयारी भइरहेको बताए।

लुम्बिनी प्रदेशमा खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ।

यी मन्त्रालयहरु हाल मुख्यमन्त्री चौधरीले सम्हाल्दै आएका छन्। मन्त्री मास्कीले सत्ता साझेदार दलसँग छलफल गरेर सरकारलाई पूर्णता दिने बताए।

साना दलको भागबन्डा अनुसार प्रतिनिधित्व भइसकेका कारण अब कांग्रेस र माओवादी केन्द्रबाट बाँकी रहेका मन्त्रालयमा मन्त्री नियुक्त हुने बताइएको छ। वैशाखमा सरकार गठन गर्दा नेपाली कांग्रेसले मुख्यमन्त्री सहित ४ र माओवादीले अर्थमन्त्री सहित ३ मन्त्री पाउने सहमति भएको थियो।

लुम्बिनी प्रदेशमा अहिले नेपाली कांग्रेसले मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालय, माओवादीले अर्थ मन्त्रालय, लोसपाले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार मन्त्रालय, जसपाले कृषि तथा भूमि सुधार मन्त्रालय र जनमत पार्टीले सामाजिक विकास मन्त्रालय पाएका छन्।

असार २२, २०८० शुक्रबार १२:०२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।