काठमाडौँ महानगरको अनुरोध : दुर्गमका विद्यार्थी शिक्षाबाट वञ्चित भए, एसईई नतिजाको १५ दिन भर्ना अवधि राखियोस्

काठमाडौँ महानगरको अनुरोध : दुर्गमका विद्यार्थी शिक्षाबाट वञ्चित भए, एसईई नतिजाको १५ दिन भर्ना अवधि राखियोस्

काठमाडौँः कक्षा ११ मा भर्ना लिँदा एसईई नजिता प्रकाशित भएको कम्तीमा १५ दिनको समय राख्न काठमाडौँ महानगरपालिकाले सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ। 

महानगरको शिक्षा विभागले एक सूचना निकाल्दै दुर्गमबाट आउने विद्यार्थीहरूलाई भर्नाबाट वञ्चित नगर्न अनुरोध गरेको हो।

विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिका लागि मात्र सूचना चना प्रकाशन गर्ने गरेको भन्ने गुनासो आएकाले यस्तो आग्रह गरिएको महानगरपालिकाले जनाएको छ। 

महानगरले २०७९/८० मा भर्ना भएका विद्यार्थीको संख्या र विवरण असार मसान्तभित्र पठाउन पनि भनेको छ। महानगरले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न पनि सूचित गराएको छ।

महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ- एसईई परीक्षामा पास भएर कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई काठमाडौं महानगरपालिका भित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको छ।

असार २२, २०८० शुक्रबार ०९:३७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।