मन्त्री मोदीसँग दक्षिण कोरियाली ग्रामीण विकास कार्यक्रमका अध्यक्षको भेटवार्ता

मन्त्री मोदीसँग दक्षिण कोरियाली ग्रामीण विकास कार्यक्रमका अध्यक्षको भेटवार्ता

दक्षिण कोरिया : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र दक्षिण कोरियाली ग्रामीण विकास कार्यक्रम (सेमाउल)का अध्यक्ष ख्वाक डे हुनले शिष्टाचार भेटवार्ता गरेका छन्। 

सेमाउलले कोरियाको बुसानमा आयोजना गरेको विश्वका मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आइपुगेका मन्त्री मोदीसँग अध्यक्ष डे हुनले शिष्टाचार भेटवार्ता गरेका हुन्। 

भेटका क्रममा सेमाउल मोडललाई नेपालमा पनि विस्तार गर्ने सम्बन्धमा कुरा भएको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए।

सेमाउल जनताको आफ्नै श्रम र सहभागितामा न्यून लगानीमा नमूना गाउँ निर्माण गर्ने एउटा विशेष खालको मोडल हो। 

भेटमा सेमाउलका अध्यक्ष ख्वाक डे हुनले नमूना गाउँ निर्माणका लािग समोउलमार्फत आवश्यक सहयोग गर्ने बचनबद्धता व्यक्त गरे। जनताको जागरुकता र जागरणमा नमूना गाउँ निर्माण गर्ने आफूहरूको प्राथमिकता भएकाले त्यहीअनुसार सेमाउलले नेपाललाई सहयोग गर्ने बताए। 

मन्त्री मोदीले सेमाउल र कोरिया सरकारमार्फत् नेपालको विकास निर्माण लगायतका क्षेत्रमा गर्न सक्ने सहयोगका लागि समेत सेमाउलका अध्यक्ष डे हुनमार्फत अपिल गरेका छन्।

'सेमाउल र कोरिया सरकारमार्फत नेपालको विकास र अन्य समग्र क्षेत्रको सहयोगका लागि म विशेष अपिल गर्न चाहन्छु', मन्त्री मोदीले भने, 'सेमाउल मोडल हाम्रा देशका लागि पनि अनुकरणीय छ, जनताको श्रम सहभागिताबाट नमुना गाउँ निर्माण गर्ने यो अभियानको थप विकास र विस्तारमा हामी सदैव यहाँहरुसँगै रहनेछौँ।'

सेमाउल मोडल नेपालजस्तो मुलुकको लागि प्रेरणाको स्रोत भएको समेत मन्त्री मोदीको भनाइ थियो।

असार २२, २०८० शुक्रबार ०७:२८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।