कोशीमा सभामुखको समर्थन लिएर मुख्यमन्त्री बनेपछि कांग्रेसकै विरोध

कोशीमा सभामुखको समर्थन लिएर मुख्यमन्त्री बनेपछि कांग्रेसकै विरोध

काठमाडौं : कोशी प्रदेशको सरकार गठनका लागि सभामुख बाबुराम गौतमको हस्ताक्षर राखेर गरिएको दाबीको कांग्रेस नेता शेखर कोइरालाले विरोध जनाएका छन्।

बिहीबार कांग्रेसकै उद्धव थापाले गठबन्धनका तर्फबाट गरेको दाबीमा माओवादीका सांसदका रूपमा सभामुख गौतमको समेत नाम समावेश गरिएपछि नेता कोइरालाले संसदीय मूल्य मान्यताविपरीत जान नहुने बताएका हुन्।

कोइरालाले सामाजिक सञ्जालमा मार्फत भने, ‘सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त विपरीत हुनजान्छ।’

सरकार दाबीमा सभामुखलाई समावेश गर्ने कुराले संवैधानिक भूमिका र निष्पक्षतामाथि प्रश्न उठेको कोइरालको भनाइ छ।

‘सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो, कोइरालाले अगाडि भने, ‘यदि संसदमा पेस भएका बिषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, बिघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुनजान्छ।’

कांग्रेसका थापाले सरकार गठनका लागि सभामुख गौतमसहितको हस्ताक्षर समेटे पनि प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरे।

९३ सदस्य प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।

थापाले कांग्रेसको २९, माओवादी केन्द्रको सभामुख गौतमसहित १३, एकीकृत समाजवादीको ४ र जसपाको १ गरि ४७ जना संख्या पुर्याएर सरकारको दाबी गरेका हुन्।

असार २१, २०८० बिहीबार १९:४६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।