ग्वार्कोमा सार्वजनिक सवारीका यात्रुबाट सात हजार डलर चोरी, साट्दै गर्दा मनि एक्स्चेन्जबाटै पक्राउ

ग्वार्कोमा सार्वजनिक सवारीका यात्रुबाट सात हजार डलर चोरी, साट्दै गर्दा मनि एक्स्चेन्जबाटै पक्राउ

ललितपुर : ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरेका एक पीडितको साथबाट ७ हजार ४७ अमेरिकन डलर चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चोरी गर्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई भक्तपुर ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्सा ठोरी गाउँपालिका–५ घर भई काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङ बस्ने ३३ वर्षीय आईतमान तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–३ घर भई ललितपुर ईमाडोल बस्ने २१ वर्षीया सविना तामाङ र चोरी गरेको अमेरिकन डलर सटही गर्ने ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सञ्जिव, आईतमान र सविनालाई ललितपुर ग्वार्कोबाट नेपाली नगद २ लाख रूपैयाँ र मोबाइलहरूसहित तथा मंगललाई ललितपुर वकुबहालस्थित महाबुद्ध मनि एक्सचेन्जबाट अमेरिकन डलर १ सय दरको २८ थानसहित पक्राउ गरेको हो।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ।

असार २१, २०८० बिहीबार १९:२३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।