कांग्रेसका वडाध्यक्षको अवरोधले काठमाडौँ महानगरको नगर सभा रोकियो
काठमाडौँ : बजेटमा एकलौटी गरेको भन्दै नेपाली कांग्रेसबाट जितेका वडाध्यक्षहरूले अवरुद्ध गरेपछि काठमाडौँ महानगरपालिकाको नगर सभा स्थगित भएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको नगर सभा बिहीबार बस्न सकेन।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बजेटमा छलफल नगरी मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले एकलौटी रूपमा ल्याएको भन्दै नगर सभामा अवरोध गरेका थिए।
नीति तथा कार्यक्रमसँगै बजेटबारे छलफलै नगरी पास गर्ने प्रयास गरेपछि अवरोध गरेको कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूको दाबी छ।
नगर सभा २६ गतेसम्मको लागि स्थगित भएको सूचना प्रकाशित गर्दै बिहीबारको सभा स्थगित गरियो। असार १० गते उपमेयर सुनिता डङ्गोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेस गरेकी थिइन्।
असार २१, २०८० बिहीबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।