‘प्रचण्ड’को अभिव्यक्तिमा एमालेले पानी धमिल्याएर माछा मार्न खोज्यो : माओवादी केन्द्र

‘प्रचण्ड’को अभिव्यक्तिमा एमालेले पानी धमिल्याएर माछा मार्न खोज्यो : माओवादी केन्द्र

काठमाडौं : माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलले भ्रामक प्रचारबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्ण बहादुर महराले आज जारी गरेको विज्ञप्तिमा लोकतन्त्रको अभ्यास गर्ने थलो संसद्समेत अवरोध गरिएको प्रति पार्टीले आपत्ति जनाएको हो। 

विज्ञप्तिमा प्रमुख प्रतिपक्ष दल एमालेले ‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति देखाएको महाराले बताए।

विज्ञप्तिमा एमालेलाई संकेत गर्दै महाराले भनेका छन्, ‘मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानबिन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्।’

महराले विज्ञप्तिमा प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको बताएका छन्। 

जनयुद्धबाट शान्ति प्रक्रियासँगै सरदार प्रितम सिंह र प्रधानमन्त्री प्रचण्डका बीचमा औपचारिक मात्र होइन भावनात्मक रुपमा समेत प्रगाढ सम्बन्ध रहेको उनले बताए।

सोही पृष्ठभूमिमा प्रचण्डले सरदार सिंहबाट आफूलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको र त्यसको लागि उनले सक्दो योगदान गरेको यथार्थता प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ।

असार २१, २०८० बिहीबार १४:५३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।