प्रधानमन्त्रीको सचिवालयले भन्यो, 'अभिव्यक्ति अपव्याख्या गरेर राजनीतिक अभीष्ट पूरा गर्न खोजियो'

प्रधानमन्त्रीको सचिवालयले भन्यो, 'अभिव्यक्ति अपव्याख्या गरेर राजनीतिक अभीष्ट पूरा गर्न खोजियो'
फाइल तस्वीर

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको उनको सचिवालयले जनाएको छ।

प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले दिल्ली गएर सहयोग गरेको बताएपछि उनको अभिव्यक्ति विवादास्पद भएको थियो।

बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यद्वारा जारी प्रेस नोटमा भनिएको छ,' जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको थियो। प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि ०६७/०६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो। सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको थियो। 

नेपालका शुभेच्छुक सिंहले अनौपाचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गरे पनि त्यसलाई घुमाएर अतिशयोक्तिपूर्ण राजनीतीकरण गर्न खोजिएको जारी प्रेस नोटमा जनाइएको छ। 

सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषय प्रधानमन्त्रीले कार्यक्रममा स्मरण मात्र गरेका सचिवालयले भनेको छ। 

विज्ञप्तिमा लेखिएको छ, 'संसदमा प्रस्टीकरणको मौकासमेत नदिई प्रधानमन्त्रीको भनाइको आशयविपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ।'

असार २१, २०८० बिहीबार १४:१५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।