सत्ता गठबन्धनले भन्यो : एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर असंसदीय व्यवहार देखायो

सत्ता गठबन्धनले भन्यो :  एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर असंसदीय व्यवहार देखायो

काठमाडौं : सत्तारुढ गठबन्धनले प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायत प्रतिपक्षी दलको व्यवहार गैर राजनीतिक र असंसदीय रहेको ठहर गरेको छ।

मिटर ब्याजबाट आहात भएका नागरिकलाई राहत दिन सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ असफल बनाई प्रतिपक्ष पीडितविरुद्ध उभिएको निष्कर्षसमेत बैठकले निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्मा फेस गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पोण्डेले जानकारी दिए।

‘प्रधानमन्त्रीले कुनै सन्दर्भमा बोलेको केही विषयमा कोही कसैलाई आपत्ति भए संसद्मा आवाज उठाउन पाइन्छ। तर, उहाँहरू ‘प्रतिपक्षी’ले जे गर्नुभयो त्यो निर्णय असंसदीय छ,’ पाण्डेले भने। 

बैठकले कोशी प्रदेशको मुख्यमन्त्री पदमा आज साँझ ५ बजेसम्म नेपाली कांग्रेसका नेता उद्धव थापालाई प्रस्ताव गने निर्णय गरेको छ।

यसअघि नै गठबन्धनले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको सन्दर्भमा आज नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई समेत बोलाएर तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ।

यसैगरी मिटरब्याजका सम्बन्धमा पनि आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउने सहमति भएको नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए। बुधबार एमाले लगायत दलको अवरोधका कारण मिटरब्याजसम्बन्धी अध्यादेश पारित हुन सकेन।

प्रमुख प्रतिपक्ष लगायतका दलले के कति दिन सदन अवरोध गर्ने र किन गर्ने भन्ने विषयमा नेपाली जनतालाई पनि स्पष्ट जवाफ दिनुपर्ने एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेको भनाइ छ। 

प्रतिपक्षी लगायत दल जनताको शोषण गर्ने मिटरब्याजीको पक्षमा उभिएको स्पष्टै देखिएको पनि उनले आरोप लगाए।

असार २१, २०८० बिहीबार १३:३२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।