हर्कलाई भेटेपछि नागरिक उन्मुक्ति पार्टी छाडेको एलिजाको घोषणा, समाजसेवामा लाग्ने
काठमाडौं : पाँच महिना अघि महिला विभाग प्रमुख बनेर पार्टी प्रवेश गरेकी अभिनेत्री तथा मोडल एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी छाडेकी छन्। उनले आफू स्वतन्त्र भएर समाजसेवा गर्ने भन्दै सक्रिय राजनीतिबाट बिदा लिएको बताएकी छन्।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग भेटेर काठमाडौं आएकी गौतमले आफूले पार्टीलाई २ साता अघि नै राजीनामा बुझाइसकेको समेत जानकारी दिएकी छन्।
एलिजाले हर्क साम्पाङलाई भेटेर १० थान साबेल उपहार दिएकी छिन्। आफू सामाजिक कामका लागि धरान पुगेको बताउँदै एलिजाले आउँदा दिनमा पनि समाजसेवामा नै अग्रसर हुने बताइन्।
यसअघि उनले उक्त पार्टीका संस्थापक नेता रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बाल्ने अभिव्यक्ति दिएकी थिइन्। सोही अभिव्यक्तिका कारण आलोचना खेपेकी एलिजाले पछि माफी समेत मागेकी थिइन।
फिल्म ‘अनुराग’बाट अभिनयमा डेब्यु गरेकी एलिजाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्।
असार २१, २०८० बिहीबार १२:५३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।