आफ्नै बोलीको पासोमा प्रचण्ड, एमाले राजीनामा गराउने रणनीतिमा, काँग्रेस नेता समेत रिसाए

आफ्नै बोलीको पासोमा प्रचण्ड, एमाले राजीनामा गराउने रणनीतिमा, काँग्रेस नेता समेत रिसाए

काठमाडौँ : एक किताब विमोचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल एमालेले राजीनामाको अजेण्डा बनाएको छ।

बुधवार दुवै संसद् अवरुद्ध गरेर एमाले यस पटक प्रचण्डलाई कुनै पनि हालतमा प्रधानमन्त्रीको कुर्सीबाट झार्ने कडा रणनीतिमा देखिएको छ। एमालेले बुधवार राष्ट्रिय सभा अनि प्रतिनिधि सभा दुवै चल्न दिएन। अवरोध मात्र गरेन आफ्ना सांसद मार्फत प्रधानमन्त्री प्रचण्डको राजीनामै मागे।

सोमबार प्रचण्डले ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन गर्नेक्रममा प्रितमले आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको बताएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको प्रधानमन्त्री दिल्लीले बनाउने सन्देश गएको र यो संसद् र देशकै अपमान भएको भन्दै राजीनामालाई एक मात्र सर्त बनाउने रणनीतिमा लागेको छ।

त्यसका लागि एमालेले बुधवार आकस्मिक रूपमा संसदीय दलको बैठक राखेर प्रचण्डको राजीनामा बाहेकको अर्को विकल्प नभएको निष्कर्ष निकालेको थियो। बैठकमा संसदीय दलको नेता समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामै मागेपछि ब्याक हुने वा विषयान्तर हुने अवस्था नरहेको भन्दै सांसदहरूलाई दुवै सदनमा त्यही रूपमा प्रस्तुत हुन निर्देशन दिएका थिए।

एमालेले यसलाई बलियो राजनीतिक हतियार बनाउने तयारी गरेपछि माओवादी केन्द्र विषयान्तरको प्रयासमा सक्रिय देखिएको छ।  उनीहरूले यसलाई सरकारले प्रतिनिधि सभामा मिटरब्याजी पीडित सम्बन्धी विधेयक रोक्ने एमालेको खेलको रूपमा प्रचार सुरु गरेका छन्।

उता प्रधानमन्त्री प्रचण्डले एमालेको रणनीति बुझेर सार्वजनिक मञ्चबाट आफ्नो भनाईको आशय प्रस्ट्याउने प्रयास गरे। उनले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम भारतको दिल्ली गएको कुरा आफ्नो नभई प्रितमको कुरा भएको र आफूले उनको कुरा भनेको दाबी गर्दै प्रतिपक्षी दलले त्यसैलाई लिएर बबन्डर गर्ने तयारी गरेको दाबी गरेका थिए।

मलाई प्रधानमन्त्री बनाउन उहाँले धेरै मिहिनेत गर्नुभयो'

प्रधानमन्त्री प्रचण्डले बुधवार प्रितमको कुरा आफूले बोलेको र त्यो कुरा आफ्नो नभई प्रितमको भएको दाबी गरे। तर उनले गरेको सोमबारको भाषण उनले बुधवार दाबी गरे जस्तो भने थिएन।

उनले भनेका थिए

नेपाल भारत सम्बन्धलाई नागरिकको सम्बन्ध विस्तारमा प्रितमको योगदान विशिष्ट छ। यातायात सामाजिक क्षेत्र र शिक्षामा मात्र हैन उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ।

मलाई एक पटक प्रधानमन्त्री बनाउन उहाँले धेरै मिहिनेत गर्नुभयो। दिल्ली पनि जानु भयो। काठमाडौँका साथीहरूलाई नेताहरूसँग पनि छलफल गर्नुभयो।

शान्ति प्रक्रियामा आएदेखि नै म उहाँसँग नजिक रहेर काम गरेको छु। नजिक भएर चिन्ने बुझ्ने र निकट भएँ। उहाँले मेरो छोरीको क्यान्सर उपचारमा निकै ठुलो सहयोग गर्नुभएको छ।

तर बुधवारै उनले आफ्नो बोली फेर्दै भने :

एउटा सिखको किताब विमोचन गर्दा मैले भनेको कुरामा विवाद झिक्ने काम भइरहेको छ। उनले बोलेको कुरा मैले बोलेको। उनले बोलेको मैले हैन। मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्थ्यो। कहिले कहाँ भनेर भनेको। त्यसैलाई लिएर विपक्षीले बबन्डर मच्याउन खोजेका छन्। तर त्यो बेलुन चाँडै फुट्छ।

उनले सोमबार प्रितमले किताबमा लेखेको विषय नभई आफ्नै अनुभव बोलेका थिए। तर समस्या परेपछि उनको कुरा हो मेरो हैन भने पनि प्रमुख प्रतिपक्षीले यसलाई सम्भव भएसम्म हतियार बनाउने रणनीति बनाइसकेको छ।

उता प्रमुख सहयोगी दल नेपाली कांग्रेसका नेताहरू समेत उनको अभिव्यक्तिप्रति खुसी देखिएका छैनन्। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा प्रचण्डको अभिव्यक्ति आलोच्य रहेको लेखेका छन्।

उनले हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको भन्दै ट्विटर गरेका छन्' नेपालको प्रम नेपालको संसदले चयन गर्दछ र गर्ने होl मित्र राष्ट्रहरूलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रमकै हो! अतः प्रश्न हामी नै उठाइरहेका छौँ, प्रतिपक्षको त मूल कर्तव्य नै हो!'

उनले'आलोच्य अभिव्यक्तिको आलोचना जरुरी' रहेको लेख्दै 'तर मिटर ब्याज पीडितहरूलाई न्याय दिन ल्याइएको `केही नेपाल ऐन संशोधन गर्ने विधेयक´ बुधवार संसद्बाट पारित नहुँदा निष्क्रिय भएको भन्दै l `विधेयक पारित हुन दिएर मात्र अवरोध गरौँ´ भन्ने बुद्धिमत्ता कुनै पनि विपक्षी दलमा नदेखिएको लेखेका थिएl

असार २१, २०८० बिहीबार ००:०२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।