निर्मात्री पाण्डेद्वारा ‘परस्त्री’ फ्लप भएको स्वीकार

निर्मात्री पाण्डेद्वारा ‘परस्त्री’ फ्लप भएको स्वीकार

काठमाडौं : गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘परस्त्री’ फ्लप भएको निर्मात्री शर्मिला पाण्डेले स्वीकार गरेकी छन्।

बुधबार फेसबुकमा फिल्म फ्लप भएको स्वीकार गर्दै उनले आफ्नो कर्म नछाड्ने बताएकी हुन्।

उनले लेखेकी छन्,‘मैले आजसम्म निर्माण गरेका चलचित्रबाट आत्मसन्तुष्टि प्राप्त गरेकी छु। यो मेरो ठूलो सम्पत्ति हो। त्यसैले म मेरो कर्ममा खुशी साथ निरन्तर लागिरहनेछु।’

फिल्म सफल/असफल हुने कुरा नौलो नभएको उनको तर्क छ।

उनले लेखिन्, ‘खेल खेल्ने मान्छेको जीवनमा हारजित हुन्छ नै। यो कुनै नयाँ कुरा होइन। म मेरो कर्ममा निरन्तर लागिरहेको छु। लागिरहने छु।’

निर्मात्री पाण्डेले फिल्म ‘परस्त्री’बाटै छोरो सुरजलाई निर्देशनमा डेब्यु गराएकी थिइन्।

समिक्षात्मक रूपमा राम्रो मानिएको फिल्ममा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेले अभिनय गरेका छन्। फिल्मलाई दीपेन्द्र के. खनालले लेखेका हुन्।

असार २०, २०८० बुधबार २१:१७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।