विश्वकप छनोटमा आठौं भएपछि कप्तान भन्छन्- नतिजा सोचेजस्तो आएन तर धेरै कुरा सिक्न पायौँ
काठमाडौं : आईसीसी विश्वकप छनोटमा आठौं भएपपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले धेरै कुरा सिक्न पाएको बताएका छन्।
बुधबार फेसबुक पोस्टमार्फत पौडेलले परिणाम सोचेजस्तो नभए पनि प्रतियोगिताले आफूहरुलाई सिक्ने र क्षमता वृद्धि गर्ने अवसर दिएको बताए।
उनले भने, ‘परिणाम सोचेजस्तो नभए पनि यो प्रतियोगिता हाम्रो लागि सिक्ने र क्षमता वृद्धि गर्ने एउटा महत्त्वपूर्ण अवसर रह्यो र हामी नयाँ सिकाइ, मेहेनत र हौसलाका साथ अगाडि बढ्नेछौँ।’
पौडेलले जारी प्रतियोगितामा नेपालको लागि समाप्त भए पनि आफूहरूको यात्रा अझै जारी रहेको र महत्वपूर्ण खेलहरूले नेपाललाई पर्खिरहेको बताएका छन्।
कमजोरीहरू सुधार गर्दै सफलताका लागि प्रयास गरिरहले प्रतिबद्धता व्यक्त गर्दै कप्तान पौडेलले असफलताहरूबाट सिकेका विषयलाई भविष्यका लागि ऊर्जाको रूपमा प्रयोग गर्ने बताए।
उनले फ्यानहरूलाई समर्थनका लागि धन्यवाद दिँदै आफूहरू बलियो भएर फर्कने विश्वास दिलाएका छन्।
असार २०, २०८० बुधबार १९:३९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।