झुटो नागरिकता सिफारिस गरेका वडाध्यक्ष भन्छन्, 'वडाका सबैलाई चिनिँदैन, साथीहरूले हो भनेपछि दिएँ'

झुटो नागरिकता सिफारिस गरेका वडाध्यक्ष भन्छन्, 'वडाका सबैलाई चिनिँदैन, साथीहरूले हो भनेपछि दिएँ'

बुटवल : दाजुका सन्तानलाई भाइका सन्तान बनाएर नागरिकताका लागि झुटो विवरण सिफारिस गरेका बुटवल वडा नं. १ का वडाध्यक्ष नरेन्द्र बस्नेत शंकाको घेरमा परेका छन्। 

नागरिकताजस्तो संवेदनशील विषयलाई वडाध्यक्ष बस्नेतले हुचुवाका भरमा झुटो सिफारिस गरिदिएका थिए। 

रमेश कसौधनले दाजु राजकुमार कसौधनका छोराछोरीलाई आफ्नै छोरा छोरी हुन् भनी दिएको झुटो विवरणमा वडा अध्यक्ष बस्नेतले नागरिकताका लागि सिफारिस गरेका थिए। 

वडाध्यक्ष बस्नेतले ‘आर्थिक प्रलोभनमा परेर’ नागरिकताका लागि सिफारिस गरेको हुन सक्ने भन्दै प्रहरीले सूक्ष्म अध्ययन गरिरहेका छ। बस्नेतले नागरिकता सिफारिस गरेका रमेश हाल बुटवलको वडा नं. १ मा नभई वडा नं. ११ प्रगतिनगरमा बस्दै आएका छन्।

वडाध्यक्ष बस्नेतले जानीबुझी नै झुटो विवरणमा नागरिकताको सिफारिस गरेको स्थानीयसमेत बताउँछन्। ‘बुटवलको वडा नं १ त्यति ठूलो छैन। रमेश पनि त्यहीँ जन्मे हुर्केका हुन्, वडाध्यक्षसमेत त्यहीँ जन्मे हुर्केका मान्छे हुन्। २-२ पटक वडाध्यक्ष भइसकेका मान्छेले थाहा थिएन भन्न मिल्ने विषय नै होइन, यसमा मिलोमतो छ’, एक स्थानीयले भने। 

वडाध्यक्ष बस्नेतले नागरिकताका लागि सिफारिस गरेका मनोज, सन्ध्या र सरिता, रमेशका दाजु राजकुमार कसौधन र सीता कसौधनका छोराछोरी हुन्। 

दाजु राजकुमार विदेश भएका बेला रमेशले भाउजू सीतासँग विवाह गरेका थिए। रमेशले २०६७ साल जेठ १० गते भारत घर भएकी सीता बानियासँग विवाह गरेको भन्दै तत्कालीन बुटवल नगरपालिकाको वडा नं २ को कार्यालयमा विवाह दर्ता गरी वैवाहिक अंगीकृत नागरिकता बनाएका थिए। 

त्यसपछि २०६७ जेठ ३० गते सीतासँग सँगै ल्याएका राजकुमार कसौधनका छोरा छोरीहरू आफ्ना सन्तान हुन् भनी जन्मदर्ता बनाएको र २०७६ साल जेठ ६ गते मात्रै सीताको नागरिकता बनाएको अभिलेखबाट देखिन्छ।

सीता र राजकुमारका मनोज, सन्ध्या र सरिता छोराछोरी हुन्। उनीहरू रमेशसँगै बस्छन्। त्यसमध्ये जेठी छोरी सरिताको विवाह भइसकेको छ। तर यो सबै वडाध्यक्ष बस्नेतलाई थाहा हुँदाहुदै पनि नागरिकताका लागि झुटो सिफारिस गरेका स्थानीयहरू बताउँछन्। 

यसअघि पनि रमेशले छोरा मनोज र छोरीहरू सन्ध्या र सरिताको नागरिकता बनाउन पटक पटक वडा कार्यालयमा जाने गरेका वडाका केही कर्मचारीहरूले जानकारी दिए। 

तर वडाध्यक्ष बस्नेतले आफूले विवाह दर्ता जन्मदर्ता र अन्य प्रमाण पुग्ने कागजात हेरेर नागरिकताका लागि सिफारिस गरेको बताउँदै आएका छन्।

‘मैले कागजातका आधारमा सिफारिस दिएको हुँ। २०६७ सालमै जन्मदर्ता भएको रहेछ, त्यो ल्याएपछि सिफारिस दिएँ। वडाध्यक्षले सबैलाई चिन्दैनन्। साथीहरूले हो भन्नुभयो मैले सिफारिस दिएँ’, उनले भने।

अहिले जिल्ला प्रशासन कार्यालयले यसबारे अनुसन्धान गरिरहेको छ। इलाका प्रहरी कार्यालयले गरेको अनुसन्धानका क्रममा पनि दाजु राजकुमार कसौधनले आफूबाट ३ सन्तान जन्मिएको र नागरिकताका लागि सिफारिस गरिएकाहरू रमेशका नभई आफ्ना सन्तान भएको बताएका थिए। 

इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले यसबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि दोषी ठहरिए जोसुकैलाई पनि कारबाही गरिने बताए। 

‘यहाँ नागरिकताका लागि सिफारिससहित आएपछि हामीले शंका लागेर प्रहरीलाई अनुसन्धान गर्न भन्यौँ। उहाँले झुटो विवरणसहित सिफारिस भएको भनी हामीलाई भन्नुभयो। त्यसपछि हामीले जिल्ला प्रशासन कार्यालयमा पठाएका छौँ। अब अनुसन्धानले थप केही तथ्य पुष्टि गर्ला’, उनले भने। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले झुटा विवरण पेश गर्ने र नागरिकताका लागि सिफारिस गर्ने सबैलाई कारबाही गरिने बताए। उनले यसबारे थप अनुसन्धान भएको भन्दै अनुसन्धानबाट दोषी ठहरिए सबै कानुनी कारबाहीको भागीदार हुने बताए। 

उनले झुठा विवरण पेश गर्ने बाबुआमासँगै गरेर नागरिकता लिन प्रयास गर्ने ३ जना र जन्मदर्ता गर्ने र नागरिकताका लागि सिफारिस गर्नेहरूलाई समेत कानुनी दायरामा ल्याउने गरी अनुसन्धान गर्न निर्देशन दिएको बताए। 

अहिलेसम्म कसैलाई पनि पक्राउ गरेर अनुसन्धान भने गरिएको छैन। झुटो विवरण पेश गर्ने रमेश र सीता तथा उनका छोराछोरी भनिएका मनोज, सन्ध्या र सरितालाई अहिले बाहिरबाटै अनुसन्धान भइरहेको बताइएको छ।

झुटो विवरणका आधारमा सिफारिस दिने वडाध्यक्ष बस्नेतमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

यसअघि केही सञ्चारमाध्यममा ५ जनालाई पक्राउ गरिएको सार्वजनिक भए पनि उनीहरू अहिलेसम्म पक्राउ परेका छैनन्। केही समय ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले थप अनुसन्धानका लागि अदालतबाट अनुमति नपाउँदा अहिले भने उनीहरू बाहिरै छन्। 

अदालतले बाहिरै राखेर अनुसन्धान गर्नु भन्ने आदेश गरेपछि हिरासतमा नराखी बाहिर रहेकै अवस्थामा ६ जनामाथि नै अनुसन्धान भइरहेको बताइएको छ।

असार २०, २०८० बुधबार १५:३१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।