एमालेको निष्कर्ष : प्रचण्डले प्रधानमन्त्रीको पदमा बसिरहने हैसियत गुमाए

एमालेको निष्कर्ष : प्रचण्डले प्रधानमन्त्रीको पदमा बसिरहने हैसियत गुमाए

काठमाडौं : एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको रुपमा पदमा बसिरहने हैसियत गुमाएको निष्कर्ष निकालेको छ।

बुधबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री दाहालले राजनीतिक र नैतिक रूपमा पदमा बसिरहने हैसियत गुमाएको निष्कर्ष निकाले एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘राजनीतिक र नैतिक रूपमा उहाँ (प्रचण्ड) प्रधानमन्त्रीमा बसिरहने हैसियत गुमाउनुभयो,’ उनले भने, ‘उहाँको जे अभिव्यक्तिहरू देखिएको छ, भारत भ्रमणका क्रममा देश हितको विषयमा किन बोल्नुभएन, सीमाको विषयमा किन बोल्नुभएन भनेको उहाँलाई त नेपालको संसदले प्रधानमन्त्री बनाएको होइन रहेछ, उहाँलाई त दिल्लीले बनाएको रहेछ।’

बर्तौलाले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्, जनता, देशको स्वाभिमान र जनादेशमाथिको अपमान भएको बताउँदै यसलाई आफूहरूले समान्य रुपमा नलिएको जानकारी दिए। संसदमा प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा कडा रुपमा प्रस्तुत हुने एमालेको तयारी छ।

यस विषयलाई लिएर संसद् समेत अवरुद्ध हुनसक्ने उनले बताए।

‘प्रधानमन्त्रीको अभिव्यक्ति संसद, जनता, देशको स्वाभिमान र जनादेशमाथिको पनि अपमान हो,’ उनले भने, ‘संसद् बैठक अवरुद्ध हुनसक्छ। कोही मान्छे उहाँलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भन्ने विषय सामान्य होइन। संसदमा यो विषयमा कडा ढंगले उठाउँछौं।’

मंगलबार भएको एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली धाएको बताएका थिए।

असार २०, २०८० बुधबार १४:५२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।