भ्रष्टाचारविरूद्ध सतिसाल झैँ उभिन्छु : प्रधानमन्त्री

भ्रष्टाचारविरूद्ध सतिसाल झैँ उभिन्छु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाईंमा सतिसाल झैँ उभिने बताएका छन्।

बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन्।

उनले भने, ‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ। ललिता निवासको फाइल फेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ।’

२०६४ को निर्वाचनमा राम्रो परिणाम ल्याएर पनि पार्टी एकताबद्ध हुन नसकेको स्मरण गर्दै उनले अहिले पुन: माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बनेको बताए।

घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी रहेकाे बताउँदै उनले यो आफैँमा वर्गसंघर्ष भएकाे जिकिर गरे।

उनले अगाडि थपे, ‘वर्ग संघर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो। २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुने गरि परिणाम दिनुपर्छ,दिन्छौं।’

इतिहासको तागतको बलमा आफूहरू सरकारमा रहेकाे भन्दै उनले भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त भएकाे बताए।

‘आफूहरू सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं। सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरू छन्। तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन्’, प्रधानमन्त्रीले भने।

असार २०, २०८० बुधबार १४:३१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।