एमाले महासचिवको आरोप : प्रधानमन्त्रीको भनाइ हदैसम्मको नकचरोपन हो

एमाले महासचिवको आरोप : प्रधानमन्त्रीको भनाइ हदैसम्मको नकचरोपन हो

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध एमाले महासचिव शंकर पोखरेलले कडा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालबाटै पोखरेलले प्रधानमन्त्री प्रचण्डको धुत्याइले नेपाली राजनीति विवादास्पद र स्थिर बनेको आरोप लगाए।

पोखरेलले लेखेका छन्, 'उनी (प्रचण्ड) सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरु साक्षी छन् । 'प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्लीसमेत जानुभयो' भन्ने उनको भनाई उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो।'

प्रधानमन्त्री को हुने भन्ने कुरामा बाह्य रूपमा जतिसुकै चलखेल भए पनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा नै  भएको पोखरेलले लेखेका छन्। 

'जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रचण्डको अभिव्यक्ति अक्षम्य छ,' पोखरेलले लेखेका छन्, 'यस विषययमा प्रतिनिधि सभाका माननीय सदस्यहरुको ध्यान गम्भीर रुपमा जाने नै छ।'

प्रधानमन्त्री प्रचण्डले गत असार १८ गते एक कार्यक्रममा भारतीय व्यापारी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन सघाएको र पटक पटक दिल्ली गएर कुरा गरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। जसप्रति अहिले उनकै पार्टी माओवादीले पनि विरोध जनाएको छ। 

असार २०, २०८० बुधबार १३:००:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।