ललिता निवास जग्गा घोटालामा जग्गाधनी समरजंगकै कर्मचारी पक्राउ परे

ललिता निवास जग्गा घोटालामा जग्गाधनी समरजंगकै कर्मचारी पक्राउ परे
तस्बिर स्रोत सुशील ढकालको फेसबुक पेज

काठमाडौँ : ललिता निवासको जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा जग्गाधनी नेपाल समरजंग कम्पनीका पूर्व अधिकृत पक्राउ परेका छन्।

मङ्गलवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व अधिकृत रमेशकुमार पोखरेललाई पक्राउ गरेको हो। उनले जग्गा बुझ्न आएको डोरलाई जग्गाको अभिलेख नभएको भन्दै जग्गा हिनामिनामा सघाएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको ब्युरोको एक अधिकारीले जानकारी दिए।

ब्युरोले मङ्गलवारै नक्कली मोही देवनारायण महर्जनलाई समेत पक्राउ गरेको छ। ललित निवासको जग्गा गृह मन्त्रालय मातहत रहेको समरजंगको नाममा ल्याइएको थियो। नक्कली मोही र नक्कली गुठी खडा गर्दै गिरोहले नै जग्गा हिनामिना गरेका थिए।

सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धानकोक्रममा जो जग्गा धनी हो उही कार्यालयका नेतृत्व समेत संलग्न देखिएको छ। यस अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समरजङका कर्मचारी परेका थिएनन्।

ब्युरोले आइतबार काठमाडौँ महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की र नक्कली मोही बाबुराज महर्जनलाई पक्राउ गरेको थियो ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्कीलाई पक्राउ गरेर ब्युरोले अनुसन्धान सुरु गरेको थियो।

 गुरुङ, शाह, गौतम र कार्की स्वास्थ्य अवस्था ठिक छैन भनेर शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। अदालतबाट पहिले नै पक्राउविरुद्ध ‘स्टे अर्डर’ लिएका केसी, देउजा र कपाली हाजिर जमानीमा छुटेका छन्।

असार १९, २०८० मंगलबार २१:४५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।