बिहे गर्न नमानेपछि दाङमा प्रेमीलाई पेट्रोल छर्केर जलाउने युवतीको प्रयास, प्रहरीले मिलापत्र गराएर छाडिदियो

बिहे गर्न नमानेपछि दाङमा प्रेमीलाई पेट्रोल छर्केर जलाउने युवतीको प्रयास, प्रहरीले मिलापत्र गराएर छाडिदियो

दाङ : दाङमा एक युवतीले आफ्नो विवाह प्रस्ताव नमानेको झोकमा आफ्ना प्रेमी र उनको आमालाई पेट्रोल छर्केर ज्यान लिन खोजेको घटनालाई प्रहरीले मिलापत्र गराएर छाडेको छ। 

गम्भीर घटना भए पनि दवाबमा परेर प्रहरीले दुवै पक्षलाई मिलापत्र गराएको बुझिएको छ।

ती युवतीले प्रेमी र उनको आमालाई मात्र जलाउन खोजेको नभइ अन्त्यमा पेट्रोल छर्केर आफै आत्मदाह गर्ने प्रयास समेत गरेकी थिइन् ।

घोराहीका विशाल अग्रवालसँग प्रेममा रहेकी ती युवती डिभोर्सी हुन् भन्ने थाहा पाएपछि विशालले उनीसँगको भेटघाट कम गरेका थिए। यसपछि गत जेठ १५ गते उनले विशाललाई विवाहको प्रस्ताव राखिन्।

विशालले उनको प्रस्तावको कुनै जवाफ दिएनन्। यसपछि ती युवतीले घोराहीको बैंक रोडमा रहेको विशालको कपडा पसलमा पुगेर विशाल र उनकी आमालाई पेट्रोल छर्केर जलाउने प्रयास गरिन्।

उनीहरू सामान्य घाइते भए। त्यसपछि उनी आफैंले समेत पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेकी थिइन्। तर यो घटनालाई जिल्ला प्रहरी कार्यालय दाङले दवाबमा परेर मिलापत्र गरेर टुंगायो। 

घटनापछि विशाललाई प्रहरी चौकीमा लगिएको थियो। उनले पनि ती युवतीविरुद्ध मुद्दा हाल्ने भएपछि अन्तिममा प्रहरीले घटना बारे कुनै अनुसन्धान नै गरेन। न त युवतीविरुद्ध मुद्दा चलाइयो, न विशालविरुद्ध नै।

जिल्ला प्रहरी कार्यालय दाङले भने दुवै पक्षले जाहेरी नदिएपछि मुद्दा दर्ता नभइ यो घटना मिलापत्रमा सकिएको जनाएको छ।

असार १९, २०८० मंगलबार १८:०२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।