गुल्सन र सन्दीपको सम्हालिँदो ब्याटिङ आयरल्यान्डलाई नेपालले दियो २६९ रनको लक्ष्य
काठमाडौं : आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ।
हरारेको ताकाशिङगा स्पोर्ट्स क्लबमा टस हारेको पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनायो।
नेपाललाई सम्मानजनक स्थितिमा पुर्याउन आठौं विकेटका लागि सन्दीप लामिछाने र गुल्सन झाले ८० रनको साझेदारी गरे।
झाले सर्वाधिक ५७ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए।
ओपनर ब्याटर अर्जुन साउदले ४८ रन बनाउँदा अर्का ब्याटर कुशल भुर्तेल ८ रनमा क्याच आउट भए। ज्ञानेन्द्र मल्ल ७ रन पेभेलियन फर्किँदा कप्तान रोहित पौडेलले २९ रन जोडे।
भीम सार्कीले २० र कुशल मल्लले ४४ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी खाता नै नखोली आउट भए। करण केसी ४ रनमा क्याच आउट हुँदा अन्तिम ब्याटरको रूपमा आएका किशोर महतो १ रनमा अविजित रहे।
आयरल्यान्डका लागि ब्यारी म्याकार्थी, क्रेग गोङ्गे, मार्क एडरले समान २/२ विकेट लिए। ग्रेथ डिलाने, एन्डी म्याकब्राइन, कार्टिस क्याम्फरले १/१ विकेट लिए।
असार १९, २०८० मंगलबार १६:४९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।