तिनाउ नदी बाढीको त्रास : रातभर सुत्दैनन् तटीय क्षेत्रका बासिन्दा

तिनाउ नदी बाढीको त्रास : रातभर सुत्दैनन् तटीय क्षेत्रका बासिन्दा

बुटवल : मनसुन सक्रिय भएसँगै तिनाउ नदीमा बाढी उर्लिन थालेको छ। यस वर्ष मात्र तिनाउमा आएको बाढीले दुई पटकसम्म खतराको संकेत पार गरिसकेको छ। 

तिनाउले खतराको तह पार गरेपछि तटीय क्षेत्रका मानिसहरुको निद्रा हराउँछ। उनीहरु रातभर जाग्राम बस्छन्। मंगलबार बिहान पनि बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा पानीको सतह ७.२२ मिटर पुगेको थियो।

बिहान साढे ३ बजे तिनाउ नदी उर्लिएपछि बुटवल-१७ शिवनगर दुर्गा टोलकी सरस्वती दर्जीका आँखा खुले। खोला नजिक रहेको सानो झुपडीमा खोला सुसेली हाल्दै बग्दै आएपछि हत्तपत्त उठिन् उनी। खोला हेर्न बाहिर निस्किन्।

उनको घरदेखि ७० मिटर उत्तरतर्फ गत वर्ष तिनाउमा आएको बाढीले घरमा क्षति पुराएको थियो। त्यहाँ अहिले स्थानीय तह, बुटवल उपमहानगरपालिकाले सानो ग्यालविङ वाल लगाएको थियो। उनी उठेर त्यही वाल बाढीले भत्काए/ नभत्काएको हेर्न पुगिन्। 

वाल बाढीले भत्काएको त रहनेछ। तर वालको एक कुनाबाट सानो पानी भने बगिरहेको थियो।

‘अस्ति तिनाउ नदीमा बाढी आएदेखि रातमा निद्रा छैन। कतिबेला त्यही अघिल्लो वर्ष बाढी छिरेको ठाउँबाट बाढी पसेर बगाउँछ ठेगान छैन,’ हातले गत वर्ष बाढीले झुन्ड्याइदिएको घरतर्फ संकेत गर्दै सरस्वतीले भनिन्।

२०६९ सालदेखि हो, सरस्वती त्यहाँ बस्न थालेको। त्यो बेला तिनाउ नदी साविकको स्थानभन्दा १ सय मिटर बीचबाट बग्थ्यो। त्यो बेला सरस्वतीको त्यो सानो झुपडी बीचमा पर्ने गर्थ्यो। तर अहिले तिनाउमा बाढी बढ्नासाथ सरस्वतीको घरमा कतिबेला आइपुग्छ टुंगो छैन।

खोलाले पूर्वबाट क्रमशः पश्चिमतर्फ कटान गर्दा सरस्वतीको घर अहिले नदी किनारको डिलमा छ।

‘अघिल्लो वर्ष बाढी आउँदा २ पटकसम्म ट्याक्टरमा लोड गरेर सामान सारेकी हुँ। अहिले पनि उस्तै जोखिम छ। कतिपटक वाललाई माथिसम्म उठाएर पुर्न भनें। तर पनि कसैले सुनेनन्। यहाँ साना मान्छेका कुरा कसैले सुन्ने रहनेछन्,’ उनले भनिन्।

सरस्वती हाटबजारमा तरकारी बिक्री गरेर जिविका चलाउँछिन्। दिनभर तरकारी बिक्री गर्ने सरस्वतीलाई अहिले रातमा पनि चैन छैन। त्रासमै रात बित्ने गरेको छ। 

तिनाउ–दानव कोरिडोरको काम सम्पन्न भए वा मोतिपुर औद्योगिक क्षेत्रको काम अगाडि बढे सरस्वती त्यहाँबाट विस्थापित हुनुपर्छ। कोरिडोर र औद्योगिक क्षेत्रभित्र उनको त्यो झुपडी पर्छ।

‘कोरिडोर वा औद्योगिक क्षेत्रले विस्थापित भए कतै लगेर राख्ला। तर यहाँ यो बन्नुपूर्व नै तिनाउले लैजान्छ कि भन्ने डर भयो,’ उनले भनिन्।

दुर्गा टोलकै रेखा चमारको पनि हालत यस्तै छ। ब्लकको घर बनाएर २०५९ सालदेखि बस्न थालेकी रेखालाई कतिबेला तिनाउको बाढीमा हराइएला हो भन्ने डर छ। लेबर काम गर्ने रेखा एकल महिला हुन्। २०५९ साल देखि नै उनको श्रीमान्को अत्तोपत्तो छैन।

‘लेबर काम गरेर छोराछोरी हुर्काए। अहिले रुँदै बस्नु परेको छ। छोरा कवाडको काम गर्छ। म अझै पनि लेबर काम गर्छु। भएको यो ब्लकको घर पनि खोलामा झुन्डिन लागेको छ। अब यो बगाए म के गर्ने?’ आँसु झार्दै उनले भनिन्।

रेखाले बाढीकै त्रासका कारण ४ दिनदेखि आफू सुत्न नपाएको र विरामी हुन लागेको समेत बताइन। सानो पानी परेपछि नै मनमा त्रास हुने र राति बाढी ठूलो आउने भएकाले रातभर जाग्राम बस्ने गरेको उनी बताउँछिन्।

शिवनगरकी ७० वर्षीया लिलादेवी मगर पनि खोला बढ्यो कि भनेर हेर्न नदी किनारसम्म आइरन्छिन्। आफ्नो घर खोला किनारबाट केही टाढा भए पनि उनका दुई छोराहरुको घर तटीय क्षेत्रमा छ।

‘बाढीको जोखिममा छोराहरु छन्। मनमा चैन मलाई हुन्न। त्यसैले केही भइहाल्छ कि भन्ने पीरले खोलामा आएर बस्छु,’ उनले भनिन्।

बर्खा लागेसँगै रेखा र सरस्वती जस्तै शिवनगरमा ५० भन्दा बढि घरका स्थानीयबासीहरुलाई रातमा निद्रा हराउन थालेको छ। वस्तीलाई जोगाउन सुरु गरिएको काम पनि अधुरो रहँदा स्थानीयहरु त्रासमा छन्।

उनीहरु नेताले आफूहरुलाई वास्तै नगरेको गुनासो गर्छन्। ‘अहिले नेता फर्केर आएका छैनन्। वाल लगाउन पटक-पटक भन्दा पनि कसैले सुनेनन्। अहिले हामी सबै जोखिममा छौं। पहिलेकाले त केही कुरा सुन्थे। अहिलेकाले केही सुन्दैनन्,’ सरस्वती दर्जीले भनिन्।

शिवनगर सहित बुटवलका पवित्रानगर, मजुवा, बुद्धनगर, सिर्जना नगरका स्थानीयहरु पनि अहिले रातभर सुत्न सकेका छैनन्। तिनाउ नदीमा आउने बाढीले जनधनको क्षति पुराउन सक्ने भन्दै उनीहरु नसुतेरै रात कटाउन थालेका हुन्।

गत वर्ष तिनाउ नदीमा बाढी आउँदा तटीय क्षेत्रका आधा दर्जन घरमा क्षति पुर्याएको थियो। त्यस अघि पनि तिनाउ नदीमा २०७३ साउन ११ मा ठूलो बाढी आयो आएको थियो। बाढीले  झोलुङ्गे पुल नै बगायो। नदी किनारका १५ घर बगे भने करिब ३ सय भन्दा बढी घर डुबानमा परे।

प्रगति टोलका १० र तत्कालीन बुटवल–१३ मझुवाका ५ घर बाढीले बगाएको थियो। यद्यपि बाढी बिहानको समयमा आएको कारण मानवीय क्षति भने हुन पाएन। त्यसयता तिनाउको बाढीले प्रत्येक वर्ष किनार कटान गर्दै जाँदा बर्सेनि ३/४ घर बगाउँदै आएको छ।

उक्त बाढी ४ दशक पछिकै ठूलो रहेको जानाकारहरु बताउँछन्। त्यसअघि २०३८ सालमा तिनाउमा ठूलो बाढी आएको मानिन्छ। सो बाढीले बुटवल र दोभान क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो। 

२०३८ सालमा बाढीले पूर्वपश्चिम राजमार्गको पक्की पुल बगाउनुका साथै २ सयभन्दा बढी मानिस बेपत्ता भएका थि । १ सय भन्दा बढीको मृत्यु भएको थियो भने त्यतिबेला हजारौं हेक्टर धानखेत बगरमा परिणत भएको थियो।

तिनाउ नदीमा मात्र होइन, दानव नदीको तटीय क्षेत्रका पनि धेरै स्थानीयहरु त्रासमा हुने गरेका छन्। बुटवलबाट छुट्टिएर पश्चिम बग्ने दानव नदीले पनि बर्सेनि कटान र घरमा क्षति पुर्याउने गर्दछ। 

खोला किनारमै छ वस्ती 

बुटवल उपमहानगरपालिकाको तिनाउ खोला किनारका वस्ती बाढीको उच्च जोखिम पर्ने गरेका छन्। तिनाउ खोलाको बहाव नै बन्द गर्ने गरी बनाइएका घर टहराले खोला किनारका वस्ती जोखिममा छन्।

खोलाको बहाव नै छेक्ने गरी धमाधम घर निर्माण भइरहँदा उपमहानगर भने अतिक्रमण रोक्नुको सट्टा पूर्वाधार विकासका नाममा अतिक्रमणकारीको संरक्षणमा जुटेको छ। बुटवल उपमहानगरपालिकाका वडा नम्बर ११ र १२ मा अव्यवस्थित बसोबास गर्नेको संख्या बढ्दै जाँदा त्यसको नियन्त्रणमा स्थानीय सरकारको ध्यान जान सकेको छैन। 

उपमहानगरपालिकाले नदीको बहाव क्षेत्रमा धमाधम सडक कालोपत्रे, खानेपानी र बिजुलीको सुविधा उपलब्ध गराएपछि अतिक्रमण गरेर बसेकाले वैधानिकता पाएका छन्। वैधानिकता पाएपछि वर्षायाममा भने सबैभन्दा वढी जोखिममा पनि ती नै वस्ती पर्ने गरेका छन्। 

तिनाउ नदीले चर्चेको क्षेत्रमा शहर बन्ने क्रमले तीव्रता पाएको छ। नदीको बगर क्षेत्र भेट्टाउन समेत मुस्किल पर्न थालेको छ। सुकुम्बासीको नाममा तिनाउको झन्डै १ हजार हेक्टर क्षेत्रफल जग्गा कब्जा भएको छ। 

उपमहानगरपालिका आफैंले संकलन गरेको तथ्याङ्कमा त बुटवलमा १२ हजार घर सुकुम्बासी क्षेत्रमा छन्। त्यस्ता सुकुम्बासी क्षेत्र र नदी आसपास क्षेत्रको सडक कालोपत्रे गर्नसमेत उपमहानगरपालिकाले बजेट विनियोजन गर्छ।

कुनै बेला पूर्वपश्चिम राजमार्ग जोड्न तिनाउ पुलदेखि बेथरीसम्म तिनाउको बहाव क्षेत्र ३ सय मिटरदेखि १ हजार मिटरसम्म थियो। अहिले समग्रमा ३ सय मिटरमा खुम्चिएको तिनाउ नदीबारे अध्ययन गरेका जानाकारहरु बताउँछन्।

तिनाउ नदीबारे अध्ययन गरेका खेटराज दाहाल १५ मिनेट पहिरोले सिद्धबाबाका नदी रोकिए ठूलो जनधनको क्षति हुन सक्ने भए पनि यसको दीर्घकालिन समाधान गर्न स्थानीय तहले चासो नदिएको बताउँछन्।

२०५९ सालदेखि तिनाउ अतिक्रमण गरी वस्ती बस्न थालेको बताइन्छ। बुटवलको हात्तीसुढदेखि, तिलोत्तमा हुँदै सियारीसम्म तिनाउ नदी अतिक्रमण गरी वस्ती बसेका छन्। जनप्रतिनिधिहरूले लालपुर्जाको आश्वासन दिंदा त्यस्ता बहाव क्षेत्रमा सामान्य घर टहरा मात्र बनेको छैनन्, ठूलो भवनहरू समेत ठडिएका छन्।

असार १९, २०८० मंगलबार १५:४५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।