नेपालले जित्यो यू-१६ इस्ट जोन कपको उपाधि, मलेसिया ३१ रनमै अल आउट
काठमाडौं : नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। फाइनलमा घरेलु टोली मलेसियालाई ३१ रनमा अल आउट गर्दै नेपाल सानदार रुपमा लगातार तेस्रो पटक च्याम्पियन बनेको हो।
फाइनलमा २२१ रनको फराकिलो जितसँगै नेपालले उपाधिमा ह्याट्रिक गरेको हो। नेपालले यसअघि २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो।
फाइनलमा २५३ रनको विजय लक्ष्य पछ्याएको मलेसिया नेपालको आक्रामक बलिङको सामु १४.५ ओभरमा ३१ रनमा अल आउट भयो।
मलेसियालाई सस्तैमा समेट्न कप्तान अभिषेक तिवारीले ५ विकेट लिए। उनले ६ ओभरमा मात्र ७ रन खर्चेर ५ विकेट लिएका थिए। त्यसैगरी सन्तोष यादवले ३ विकेट लिए।
मलेसियाका मोहम्मद अक्रमले सर्वधिक १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्।
यसअघि खेलमा बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको हो।
नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले। भट्टले ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतक बताए। उनले ८२ बलमा शतक पूरा गरेका थिए। उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
नेपालका ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए। दोस्रो विकेटका लागि निरज र नरेन भट्टले ५५ बलमा ५५ रनको साझेदारी गरेका थिए।
नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज कुमारले पहिलो विकेटका लागि ७.२ ओभरमा ४१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। सुर्यांशुले २३ बलमा २ चौकासहित १८ रन बनाए। सन्तोष यादव २९, अशोक धामी ११ र दीपु कुमार ५ रनमा आउट भए।
एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गरेको थियो।यसअघि समूह चरणको खेलमा नेपालले मलेसियालाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।
असार १९, २०८० मंगलबार ११:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।