अर्घाखाँचीमा पहिरोले घर पुरियो, तीन बालबालिकाको मृत्यु

अर्घाखाँचीमा पहिरोले घर पुरियो, तीन बालबालिकाको मृत्यु
फाइल फोटो

बुटवल : पहिरोले घर पुरिंदा अर्घाखाँचीमा तीन बालबालिकाको मृत्यु भएको छ। जिल्लाको पाणिनि गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिंदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

मंगलबार बिहान करिब ५ बजेतिर स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरेको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए। घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरी जनाएको छ।

घटना पछि नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरिरहेका छन्। यता प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जिल्लाभर नै पानी परेकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले जिल्ला भर भारी वर्षा भएकाे र कहि प्राकृतिक विपत्ति परेमा तत्काल नजिकैको प्रहरी, स्थानीय सरकार र प्रशासन कार्यालयमा खबर गर्न अनुराेध गरेका छन्।

असार १९, २०८० मंगलबार ११:४२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।