स्वास्थ्यमा थपिएका २९५ नर्समध्ये वीर अस्पतालमै २४५ जना

स्वास्थ्यमा थपिएका २९५ नर्समध्ये वीर अस्पतालमै २४५ जना

काठमाडौं : लामो समयदेखि नर्सिङ जनशक्ति अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको छ।

लोक सेवा आयोगको लिखित र अन्तर्वार्ता उत्तीर्ण गरेर आएका २९५ जना नर्समध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको हो।

बाँकी ५० जनालाई नेपाल सरकारमातहत संघीय अस्पतालमा खटाइएको छ। नर्सिङ जनशक्ति अभावमा वीर अस्पतालले १० शय्याको आईसीयू सञ्चालन गर्न सकेको छैन।

यति ठूलो संख्यामा नर्सहरूलाई एकै पटक वीर अस्पतालमा पदस्थापन गरेको यो पहिलो पटक हो। नयाँ नियुक्त भएर वीरमा जान लागेका नर्सिङ जनशक्तिलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानवीय संवेदना जोडिएको क्षेत्र भएकाले नर्सिङ पेसा जागिर मात्र नभएको बताए।

सेवाका हिसाबले नर्सिङ जनशक्ति दोश्रो भगवान् नै भएको बताउँदै उनले गरिब र विपन्न बिरामीको उपचारलाई सेवाका रूपमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

नर्सिङ जनशक्तिलाई भविष्यमा उपयुक्त अवसर दिने काममा स्वास्थ्य मन्त्रालय पछि नपर्ने मन्त्री बस्नेतको भनाइ थियो। 

असार १९, २०८० मंगलबार ११:००:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।